इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्ध, भाषा नजान्ने विद्यार्थीमा पनि कडा सीमा

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

रोम: इटलीको प्रधानमन्त्री जर्जिया मेलोनी नेतृत्वको सरकारले विद्यालयमा बुर्का र नकाब लगाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले बिहीबार स्वीकृत गरेको डिक्री कानुनमार्फत अनुहार ढाक्ने पहिरनमा रोक लगाउनुका साथै इटालियन भाषा राम्रोसँग नजान्ने विद्यार्थीको संख्या पनि कक्षागत रूपमा सीमित गर्ने व्यवस्था गरेको हो।
प्रधानमन्त्री मेलोनीले सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै इटालियन भाषामा कमजोर विद्यार्थीको संख्या एउटै कक्षामा अधिकतम तीस प्रतिशतमा सीमित गरिने बताएकी छन्। त्यस्ता विद्यार्थीलाई भाषा सिक्न थप सहयोग र स्रोत उपलब्ध गराइने उनको भनाइ छ।
शिक्षामन्त्री ज्यूसेप्पे वाल्डिताराका अनुसार विद्यार्थीको नागरिकता होइन, भाषा दक्षता नै यो सीमाको आधार हुनेछ। सरकारले बुर्का र नकाबमाथिको प्रतिबन्धलाई लैङ्गिक समानतासँग पनि जोडेको छ।
नयाँ नियममा हिजाब भने समावेश गरिएको छैन, किनकि हिजाबले अनुहार ढाक्दैन। विद्यालयमा सामाजिक समायोजनमा समस्या देखिएका बालबालिकाका परिवारलाई सामाजिक सेवामार्फत सहयोग गरिने र अभिभावकलाई निःशुल्क इटालियन भाषा कक्षामा सहभागी गराइने व्यवस्था गरिएको छ। कक्षामा सहभागी हुन अस्वीकार गरेमा एक हजार युरोसम्म जरिवाना हुन सक्ने बताइएको छ।
डिक्री कानुन तत्काल लागू हुन सक्ने भए पनि साठी दिनभित्र संसदबाट अनुमोदन आवश्यक पर्नेछ। सरकारले यसलाई एकीकरण र भाषिक समावेशीकरणसँग जोडेको छ भने विपक्षी दलहरूले आगामी आमनिर्वाचनलाई लक्षित गर्दै दक्षिणपन्थी नीतिलाई प्राथमिकता दिइएको आरोप लगाएका छन्।
इटलीमा विदेशी विद्यार्थीको कक्षागत अनुपातसम्बन्धी तीस प्रतिशतको मार्गदर्शन यसअघि पनि लागू थियो। नयाँ निर्णयले त्यसलाई कानुनी आधार दिन खोजेको हो।

About Author

Advertisement