
आस्थाको महापर्व छठ पूजा एक मात्र यस्तो पूजा हो, जहाँ उदीयमान (उदाउँदै गरेको) सूर्य अनि अस्ताचलगामी (अस्ताउँदै गरेको) सूर्यको पूजा छठ व्रतधारीहरूले गर्दछन्। छठ पूजा हिन्दुको एउटा प्रसिद्ध तिहार हो, जहाँ ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्य भगवानलाई पूजा गरिन्छ। श्रीमद्भागवत महापुराणअनुसार प्रकृतिको छैटौं अंशको रूपमा प्रकट भएका सोह्र मातृकाहरू अर्थात माताहरूमा प्रसिद्ध षष्ठी देवी(छठी मैया) ब्रह्माजीको मानस पुत्री हुन्।

सूर्य उपासनाको यस पर्वलाई सूर्य षष्ठीको दिन मनाइएकोले यसलाई छठ अथवा सूर्य षष्ठी व्रत भनिन्छ।छठ पूजा को विधि-विधान चारदिनसम्म पालन गरिन्छ। चौथी तिथिको दिन नुहाउने अनि खाने विधि,पंचमी तिथिको दिन खरनाको विधि,षष्ठी तिथिको दिन अस्ताचलगामी (डूब्दै गरेको )सूर्यलाई अर्ध्य दिने विधि अनि सप्तमी तिथिको दिन बिहान उदीयमान (उग्दै गरेको) सूर्यलाई अर्ध्य दिने कार्य क्रमैले छठ व्रतधारीहरूले गर्दछन्। यस अवधि सूर्य भगवानको उपासना गर्नाले मान, सम्मानसहित उन्नति हुन्छ। यो व्रत गर्नाले परिवारमा सुख, समृद्धि अनि मनोवांछित फल प्राप्त हुँदछ भन्ने धारणा छ। छठ देवी भगवान सूर्यको बहिनी भएको कारण व्रतधारीहरूले सूर्य तर्फ फर्केर अर्ध्य दिँदै छठ मैयालाई प्रसन्न गर्नको निम्ति सूर्यको आराधना गर्दछन्।
पौराणिक कथाअनुसार लंकाको राजा रावणको वध गरेर अयोध्या फर्केर आएका भगवान श्रीराम अनि माता सीताले रामराज्य स्थापना गर्नको निम्ति कार्तिक महीनाको शुक्ल पक्षको षष्ठी तिथिको दिन उपवास राखेका थिए अनि सूर्य भगवानको पूजा-अर्चना गरेका थिए। यस पर्वको प्रारम्भलाई द्रौपदीसित पनि जोड़ेर हेरिन्छ। भनिन्छ जब पाण्डवले सम्पूर्ण राजपाठ जुवामा हारेका थिए,त्यस बखत द्रौपदीले छठ व्रत राखेकी थिइन्। अर्को एक मान्यताअनुसार आस्थाको महापर्व छठ पर्वलाई सबैभन्दा पहिले भगवान सूर्य अनि कुन्तीको पुत्र कर्णले सूर्यको पूजा गरेर आरम्भ गरेका थिए। कर्ण भगवान सूर्यको परम भक्त थिए। तिनी प्रत्येक दिन धेरै बेरसम्म पानीमा उभिएर सूर्य भगवानलाई अर्ध्य दिने गर्दथे। यसकारण तिनी सूर्यको कृपाले महान योद्धा बनेका थिए।









