दसैँ-तिहारपछि सरकारविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी

5edca961-6070-480b-be7e-95c1aa645af9

​काठमाडौँ: नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन्। उनले दसैँ र तिहारलगत्तै देशको राजनीतिक परिस्थितिको समीक्षा गर्दै नयाँ चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन्।
​आइतबार किसान महासङ्घद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकारमाथि दमन, ज्यादती र अत्याचार गरेको आरोप लगाए। उनले सरकारका जनविरोधी गतिविधिका विरुद्ध व्यापक संयुक्त मोर्चा निर्माण गरेर सडक आन्दोलनमा जानुको विकल्प नरहेको र त्यसको तयारीमा आफ्नो पार्टी जुटिसकेको दाबी गरे।
​प्रचण्डले आन्दोलनको पूर्वतयारीस्वरूप विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिसँग निरन्तर छलफल भइरहेको जानकारी दिए। उनका अनुसार ती संवादहरू सकारात्मक दिशामा अघि बढिरहेका छन्।
​सबै पक्ष एकजुट भएर ‘प्रतिगमन’का कदमलाई परास्त गर्दै राजनीतिक आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए। यसअघि पनि प्रचण्डले संसद्भित्रका विपक्षी दलहरूलाई एक ठाउँमा ल्याएर सरकारविरुद्ध बलियो संयुक्त मोर्चा बनाउने प्रयास भइरहेको बताउँदै आएका थिए।

About Author

Advertisement