खरसाङ (१९ सेप्टेम्बर): नेपाली भाषा मान्यता आन्दोलनका एक योध्दा, भाषा सङ्ग्रामी एंव भारतीय गोर्खाहरुका एक स्तम्भ बुद्धिमान प्रधान ‘बमप’ को नाममा श्रध्दाञ्जली कार्यक्रमसहित अन्तिम संस्कार सम्पन्न भएको छ। शनिवार उनको अन्तिम संस्कार सम्पन्न गरिएको छ। भाषा संग्रामी बुध्दिमान प्रधान ‘बमप’ को अन्तिम संस्कार गर्न शनिवार अपरान्ह १२ बजेर ४५ मिनेटमा खरसाङको सन्त मेरिजस्थित निजी बासस्थानबाट पार्थिव शरीरलाई निकालेर सन्त मेरिजको ग्राम सेवा समिति भवनमा राखेर श्रध्दाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। उक्त श्रध्दाञ्जली कार्यक्रममा ग्राम सेवा समिति सन्त मेरिजका अध्यक्ष रमेश थापा, सचिव बिराज थापा, भारतीय गोर्खा परिसंघबाट डम्बरमणि प्रधान, गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट उपाध्यक्ष प्रकाश प्रधान र दार्जिलिङबाट प्राध्यापक डा राजकुमार छेत्रीले भाषा संग्रामी बुध्दिमान प्रधान ‘बमप’ विषयमा वक्तव्य राख्दै उनको योगदान र उनले गरेका विभिन्न कार्यहरु विषयमा जानकारी गराउँदै श्रध्दाञ्जली अर्पण गरेका थिए।

ग्राम सेवा समाज भवनमा अन्तिम श्रद्धाञ्जली अर्पण कार्यक्रम आयोजना गर्नुको मुख्य उद्धेश्य उनी ग्राम सेवा समिति सन्त मेरिजका संस्थापक सदस्य साथै एकजना सल्लाहकारको रुपमा विभिन्न सल्लाह सुझाव र मार्ग दर्शन गर्ने गरेको सचिव बिराज थापाले बताएका छन्। यस अवसरमा उपस्थित विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु र समाजका प्रतिनिधिहरु साथै विभिन्न व्यक्ति विशेषले भाषा संग्रामी बुध्दिमान प्रधान ‘बमप’ लाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि उनको अन्तिम संस्कारको लागि खरसाङको गोथल्स साइडको उतापट्टि लगेर अन्तिम संस्कार सम्पन्न गरिएको छ। भाषा संग्रामी बुध्दिमान प्रधान ‘बमप’ को निधन शुक्रवार बिहान ९ बजीतिर खरसाङको सन्त मेरिजस्थित निजी बासस्थानमा भएको थियो।उनी विगत केही समयदेखि बिरामी अवस्थामा रहेकका थिए। उनले आफूपछि छोरा बुहारी, छोरी-ज्वाइँ र नाता नातिनीहरु छाडि गएका छन्। उनी ९७ वर्ष पुगेका थिए। उनको जन्म खरसाङको सिंगेल चियाबारीमा १९३० सालमा भएको थियो। उनले भाषा मान्यताको आन्दोलनमा सक्रिय र महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।





