गन्ताेक: पश्चिम सिक्किमका साइबर सुरक्षा अनुसन्धानकर्ता एवं एथिकल ह्याकर रिवेकराज तामाङ ‘इन्डिया बुक अफ रेकर्ड्स’ द्वारा ‘आइबिआर अचिभर’ को रूपमा सम्मानित भएका छन्। विश्वभरका विभिन्न संस्था तथा निकायहरूका प्राविधिक प्रणालीमा रहेका सुरक्षा जोखिमहरू (सेक्युरिटी भल्नरेबिलिटिज) पहिचान गरी सफलतापूर्वक जानकारी गराएबापत उनले ३२८ वटा स्वीकृति र प्रशंसापत्र (एक्नोलेजमेन्ट) प्राप्त गरेपछि यो उपलब्धि हासिल गरेका हुन्। इन्डिया बुक अफ रेकर्ड्सका अनुसार २७ फेब्रुअरी १९९९ मा जन्मिएका विवेकराजले अमेरिकी अन्तरिक्ष संस्था नासा, माइक्रोसफ्ट सेक्युरिटी रेस्पोन्स सेन्टर, भारत सरकारको सर्ट-इन, बहुराष्ट्रिय कम्पनीहरू, विश्वविद्यालयहरू तथा सार्वजनिक क्षेत्रका संस्थाहरूबाट जिम्मेवार ढङ्गले सुरक्षा त्रुटि औँल्याएबापत प्रशंसा प्राप्त गरेका छन्। गत २५ जुलाईमा यो कीर्तिमानको आधिकारिक पुष्टि गरिएको थियो। तामाङको साइबर सुरक्षासम्बन्धी कार्यका लागि विभिन्न संस्थाहरूले बग बाउन्टी (नगद पुरस्कार), प्रशंसापत्र, धन्यवाद ज्ञापन पत्र तथा ‘हल अफ फेम’ सूचीमा समावेश गरेर सम्मान व्यक्त गरेका छन्। जिम्मेवार तरिकाले सुरक्षा जोखिम उजागर (रेस्पोन्सिबल भल्नरेबिलिटी डिस्क्लोजर) गर्ने प्रक्रियाअन्तर्गत साइबर प्रणालीमा रहेका कमजोरी पत्ता लगाएर सम्बन्धित निकायलाई खबर गरिन्छ, जसले गर्दा समयमै उक्त त्रुटि सुधार गरी सम्भावित खतरा टार्न सकिन्छ। रिवेकराजले प्राप्त गरेको ३२८ वटा सम्मानले साइबर सुरक्षाको क्षेत्रमा उनको निरन्तरको योगदान र उत्कृष्टतालाई उजागर गरेको छ।





