बानरहाट: अन्ततः चार दिन पश्चात् हात्तीले आफ्नो मृत छावालाई छाडेपछि वन विभाग कर्मीहरूद्वारा मृत छावालाई उद्धार गर्न सफल बने| आज सोमबार दिउँसो क्रेनको सहयोगले गल्दै गरेको हात्तीको छावाको शव उद्दार गरि आज नै पोस्टमार्टमको निम्ति गोरुमारा पठाएको छ| ज्ञात रहोस् गत शुक्रबार जलपाइगढी जिल्लाको बानरहाट ब्लकस्थित चुनाभट्टी चियाबारीमा एउटा हात्तीको छावाको मृत्यु भएको थियो| उक्त मृत छावालाई आफ्नो सुडमा बोकेर चुनाभट्टी, आमबाडी,न्यु डुवर्स,डायना हुँदै लगभग ८ किलोमीटर ल्याएपछि आफ्नो झुण्ड रेड ब्याङ्क चियाबारीको १६ नम्बर सेक्सनको खाली जग्गामा ल्याएर दलसँग मिसिएको थियो|
त्यस दिनदेखिनै यस क्षेत्रमा लगभग ३०-३५ हात्तीहरूले छावालाई रुगेर डेरा लगाएको थियो| यस्तो दृश्यको साक्षी बन्न पुगेको थियो डुवर्सको यो भुमिमा हजारौँ मानिसहरू| त्यसपश्चात हात्तीले नै आफ्नो छावालाई माटोले पुरेको दृश्य पनि वन विभागले चलाएको ड्रोन क्यामरामा कैद भएको थियो| छावालाई फेरि आमाले निकालेर अन्य क्षेत्रमा लगेको थियो भने त्यस क्षेत्रमा १० देखि १५ वटा हात्तीको झुण्डले दिनभरि पहरा दिएर राखेको थियो| हिजो साँझ मात्र मृत छावालाई आमाले छाडेपछि आज दिउँसो वन विभागले उद्दार गर्न सफल बनेको थियो| वर्तमान समयमा पनि हात्तीको केही झुण्ड त्यसै ठाउँमा रहेको जानकारी प्राप्त भएको छ| यत वन विभाग स्रोतद्वारा प्राप्त जानकारीअनुसार उद्धार गरिएको हात्तीको छावालाई पोष्टर्माटमको निम्ति गोरुमारा पठाइएको छ भने पोस्टमार्टम रिपोर्ट पश्चात मात्र मृत्युको रहस्य खोलिने जनाएको छ|