मदारीहाट -भानुभक्त सांस्कृतिक संघ मदारीहाट पीएस कमिटीको आयोजनामा हिज लक्ष्मीप्रसाद देवकोटा जयन्ती पालन गरियो। भानुभक्त सांस्कृतिक संघको कार्यालयमा संघका अध्यक्ष शम्भु ढकाल,कार्यकारी अध्यक्ष किरण उपाध्याय,सचिव गणेश राउत, उपाध्यक्ष बापी दाहाल, डिल्लीप्रसाद निरौला, कोषाध्यक्ष नारायण पाण्डे, महिला प्रकोष्ठबाट दुर्गा छेत्री, मीना वाग्ले,सुमित्रा गौतम आदिको उपस्थितिमा सर्वप्रथम देवकोटाको तस्वीरमा पुष्प माला,धुप-दीप आदि दुर्गा छेत्री, अध्यक्ष शम्भु ढकाल र वयोवृद्ध सदस्य डिल्लीप्रसाद निरौलाको बाहुलीबाट अर्पण गरियो। कवि किरण उपाध्यायले देवकोटाको जीवनीबारे छोटो वक्तव्य राखेका थिए भने बितेको दशैँको उपलक्ष्यमा आयोजना गरिएको दुई दिनव्यापी भव्य फुलपाती र सांस्कृतिक कार्यक्रम सफल भएकोमा संघको तर्फबाट सबैलाई आभार व्यक्त गरियो । तिहार पश्चात् यसको समीक्षा सभा बसेर आयव्यय सार्वजनिक गर्ने जानकारी कोषाध्यक्ष नारायण पाण्डे र सचिव गणेश राउतले दिएका छन् भने भानुभक्त सांस्कृतिक संघको आगामी कार्यक्रमहरूबारे पनि सोही दिन छलफल गरिने जानकारी पनि अध्यक्ष शम्भु ढकाल र कार्यकारी अध्यक्ष किरण उपाध्यायले दिएका छन्।