सरकारी मेडिकल कलेज शुभारम्भ समारोहको निमन्त्रणा
गान्तोक: सिक्किम सरकारका स्वास्थ्य एवं परिवार कल्याण, संस्कृति तथा आयुष मन्त्री जीटी ढुङ्गेलले मंगलबार लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभएको छ। यस अवसरमा स्वास्थ्य विभागका सचिव छेवाङ ग्याछो र हेलेन लेप्चा सिक्किम गभर्नमेन्ट मेडिकल कलेजका डीन डा. विक्रम खडकाको पनि उपस्थिति रहेको थियो।
लोकभवन स्रोतका अनुसार, भेटघाटका क्रममा स्वास्थ्य मन्त्रीले आगामी १८ सेप्टेम्बर २०२६ मा हुन गइरहेको हेलेन लेप्चा सिक्किम गभर्नमेन्ट मेडिकल कलेजको शुभारम्भ समारोहमा राज्यपाललाई मुख्य अतिथिको रूपमा आमन्त्रित गर्नुभएको छ। उक्त समारोहको सुरुवात सोच्यागाङस्थित कलेज परिसरमा हुनेछ भने मुख्य कार्यक्रम मनन केन्द्रमा आयोजना गरिनेछ।
राज्यपाल ओमप्रकाश माथुरले निमन्त्रणा सहर्ष स्वीकार गर्दै राज्यको यस पहिलो सरकारी चिकित्सा संस्थानको स्थापना र शुभारम्भप्रति आफ्नो शुभकामना व्यक्त गर्नुभएको छ।





