एचआईभी नियन्त्रणका लागि पाँचसूत्रीय रणनीति तय
शिलांग: मेघालय राज्य एड्स परिषद्को पहिलो बैठक मुख्यमन्त्रीको अध्यक्षतामा सम्पन्न भएको छ। राज्यमा एचआईभी/एड्सको बढ्दो जोखिमलाई ध्यानमा राख्दै यसलाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा स्वीकार गरिएको छ।
प्राप्त तथ्याङ्क अनुसार मेघालयमा एचआईभीको दर ०.४० प्रतिशत रहेको छ, जुन राष्ट्रिय औसत ०.२० प्रतिशतभन्दा दोब्बर हो। सन् २०१० यता नयाँ सङ्क्रमणमा ५८.७४ प्रतिशतले वृद्धि भएको छ, जसअनुसार दैनिक लगभग ७ जना नयाँ बिरामी थपिने गरेका छन्। हाल राज्यमा ६१८ जना एचआईभी सङ्क्रमित रहेका छन्, जसमा ६० जना गर्भवती महिला समावेश छन्।
सन् २०१० पछि एड्सका कारण हुने मृत्युदरमा ६१.१८ प्रतिशतले कमी आएको भए तापनि सङ्क्रमितमध्ये ७७.२ प्रतिशत मात्र नियमित उपचारको दायरामा छन्। सामाजिक लाञ्छना र आर्थिक कठिनाइका कारण २,३८१ जना निदान भइसकेका बिरामीहरू उपचारबाट वञ्चित रहेका छन्।
यस चुनौतीसँग जुध्न सरकारले प्रारम्भिक पहिचान तथा जाँचको दायरा विस्तार, उपचार र नियमित स्वास्थ्य सम्पर्कमा सुधार, नयाँ सङ्क्रमणको रोकथाम, आमा तथा बच्चाको सुरक्षा, र सामाजिक लाञ्छना एवं भेदभाव उन्मूलन गर्ने पाँचसूत्रीय रणनीति अघि सारेको छ। यसका साथै स्व-परीक्षण (सेल्फ-टेस्टिङ), मोबाइल आईसीटीसी, नयाँ एआआरटी केन्द्रहरूको स्थापना, औषधि घरमै पुर्याउने व्यवस्था र युवा तथा समुदायको सहभागितामा जनचेतना अभिवृद्धि गर्ने निर्णय गरिएको छ।





