२६ अक्टोबरः एफसी उत्तर बंगो-को तत्त्वावधानमा आयोजन गरिने बंग्लादेश-इण्डिया फ्रेण्डशीप नर्थ बेंगल इण्टरनेशनल गोल्ड कप फूटबल टुर्नामेण्टको पहिलो संस्करण आउँदो ४ नोभेम्बरदेखि शुरु हुनेछ। टुर्नामेण्टको फाइनल १८ नोभेम्बरमा खेलिनेछ। आज सिलगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले यस टुर्नामेण्टबारे जानकारी दिए। बंग्लादेशमा हुने यस आमन्त्रणी टुर्नामेण्टमा उत्तर बंगालबाट तीनवटा शीर्ष टीमले हिस्सा लिनेछन्, जसमा युनाइटेड सिक्किम एफसी, युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र जयगाउँ एफसी सामेल छ। यसको साथमा बंग्लादेशको तीनवटा स्थानीय टीमले पनि हिस्सा लिनेछ। यसरी जम्मा ६ वटा टीमले हिस्सा लिने यस टुर्नामेण्टबारे जानकारी दिँदै आयोजक एफसी उत्तर बंगो (रंगपुर, बंग्लादेश)-का संस्थापक मिनाजुल इस्लाम मिन्हाजले भने, बंग्लादेश र भारतबीच सम्बन्धमा मिठास ल्याउने उद्देश्यको साथ यस टुर्नामेण्टको आयोजन गरिनेछ। टुर्नामेण्ट आयोजन गर्नुको मुख्य लक्ष्य नै दुई देशबीच मैत्री सम्बन्धलाई अझ दह्रिलो बनाउनु हो। यस अवसरमा युनाइटेड सिक्किमको पक्षमा टासी लामा, राष्ट्रिय स्तरका पूर्व फूटबलर मनजीत सिंह, राष्ट्रिय स्तरका फूटबलर नादोङ भूटिया, यूकेएफसी-का सचिव विशाल शर्मा, सल्लाहकार सन्तोष लामा, म्यानेजर मेगराज थापा, जयगाउँ एफसी-का प्रशिक्षक विमल मुखिया उपस्थित थिए। टुर्नामेण्टको आयोजन पाँचवटा स्थानमा हुने पनि आयोजकहरूले जानकारी दिए। टुर्नामेण्टमा च्याम्पियन र रनर अप् हुने टीमहरूलाई आकर्षक ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ। यसरी नै भारतबाट आमन्त्रित टीमहरूका निम्ति विशेष सुविधाहरू उपलब्ध गराइने आयोजकहरूले जानकारी दिए। टुर्नामेण्टमा हरेक टीमले प्रथम एकादशमा अधिकतम् चारजना विदेशी मूलका खेलाड़ीहरूलाई स्थान दिन सक्नेछ। टुर्नामेण्टको क्रीड़ासूची चाँड़ै प्रकाशित गरिनेछ।










