सिलगढी: उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) ले सिलगढी जङ्क्सन बस स्टेन्डमा यात्रुहरूका लागि नयाँ डर्मिटरी र प्रतिक्षालय (वेटिङ लाउन्ज) सञ्चालनमा ल्याएको छ। सोमवार बिहान बस स्टेन्डको दोस्रो तलामा आयोजित एक कार्यक्रमबीच राज्यमन्त्री आनन्दमय बर्मनले यी सुविधाहरूको औपचारिक उद्घाटन गरे। आगामी दुर्गा पूजाको अवसरमा यात्रुहरूलाई अतिरिक्त सुविधा उपलब्ध गराउने उद्देश्यले यो पहल गरिएको हो।उद्घाटन गरिएका सुविधाहरूमा पुरुष यात्रुहरूका लागि १४ बेडको डर्मिटरी, महिला यात्रुहरूका लागि ६ बेडको डर्मिटरी र एनबीएसटीसी कर्मचारीहरूका लागि ४ बेडको स्टाफ डर्मिटरी समावेश छन्। यात्रुहरूले ३०० रुपियाँ शुल्क तिरेर १२ घण्टाका लागि डर्मिटरी बुक गर्न सक्नेछन्। यो बुकिङ सुविधा बस टर्मिनसमै उपलब्ध हुनेछ।यसैगरी, २९ वटा तीन-सिटे सोफासहितको नयाँ प्रतिक्षालय पनि सञ्चालनमा ल्याइएको छ। यस लाउन्जमा टेलिभिजन र मोबाइल चार्जिङ प्वाइन्ट जस्ता आधुनिक सुविधाहरू राखिएका छन्। यसका साथै एक भीआईपी लाउन्ज पनि खोलिएको छ, जहाँ यात्रुहरूले प्रति घण्टा २० रुपियाँ शुल्क तिरेर बस्न सक्नेछन्।





