च्याम्पियन्स लीगः पीएसजी नक्आउट राउण्डमा

IMG_20221026_111049.jpg

रियलको हार अनि युभेण्टस पहिलो राउण्डमै बाहिर

२६ अक्टोबरः यूएफा च्याम्पियन्स लीग फूटबलमा मंगलवार राति पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले ठूलो जीतको साथ नक्आउट चरणमा स्थान बनायो भने युभेण्टस र रियल म्याड्रिड चाहिँ निराशाजनक हारको सम्मुखीन भयो। ग्रुप एच-को रोमाञ्चक म्याचमा पोर्तुगलको क्लब बेनफिकाले युभेण्टसलाई ४-३-ले पराजित गऱ्यो। यस हारको साथै युभेण्टसको नक्आउट राउण्डमा स्थान बनाउने सम्भावना पनि समाप्त भयो। यसरी इटलीको अग्रणी क्लबले लगभग एक दशकमा पहिलोपल्ट यस प्रतिष्ठित प्रतियोगिताको शुरुवाती राउण्डमै बिदा लियो। यसअघि युभेण्टस २०१३-१४ को सीजनमा ग्रुप चरणमै अल्झिएको थियो। आफ्नो होम ग्राउण्डमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने बेनफिका एक समय ४-१-ले अघि रहेको थियो। अन्तमा दुई गोल गरे पनि युभेण्टसले म्याच बचाउन सकेन। बेनफिकाबाट राफा सिल्वाले ३५औं र ५०औं मिनटमा २ गोल गरे। यसबाहेक एण्टोनियो सिल्वाले १७औं र जोआओ मारियोले २८औं मिनटमा गो गरे। युभेण्टसबाट मोइस कीनले २१औं, अर्काडिउज मिलिकले ७७औं र वेष्टन म्याकेनीले ७९औं मिनटमा गोल गरे। यस ग्रुपको अन्य एउटा म्याचमा फ्रान्सीसी क्लब पीएसजी-ले इज्रायलको क्लब माक्काबी हाइफालाई ७-२-ले पिट्यो। आफ्नो होम ग्राउण्डमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने पीएसजी-बाट लियोनल मेस्सी (१९औं र ४४औं) र कीलियन एम्बाप्पे (३२औं र ६४औं)-ले २-२ गोल गरे। यसबाहेक नेमारले ३५औं र कार्लोस सोलेरले ८४औं मिनटमा गोल गरे। म्याचको ६७औं मिनटमा एउटा गोल (सीन गोल्डबर्ग) आत्मघाती रह्यो। यसरी नै माक्काबी हाइफाबाट दुवै गोल अब्दुले सेकले छिराए। यी दुईवटा म्याचपछि ग्रुप एच-बाट पीएसजी र बेनफिकाले नक्आउट राउण्डमा स्थान बनायो। यी दुई टीमसँग ५-५ वटा म्याचपछि ११-११ पोइण्ट भए पनि गोल अन्तरको आधारमा पीएसजी शीर्ष स्थानमा रहेको छ। यसरी नै ५ वटा म्याचमा चौथो हारको साथ ३ पोइण्ट लिएर युभेण्टस नक्आउट राउण्डको होड़देखि बाहिर भयो।

यसबाहेक ग्रुप एफ-मा स्पेनिश क्लब रियल म्याड्रिडले पनि आरबी लिपजिग विरुद्ध २-३-ले हारको सामना गर्नु पऱ्यो। रियल म्याड्रिडको यो जारी सीजनमा पहिलो हार हो। आफ्नो होम ग्राउण्डमा ४३ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मन क्लबबाट जोसको भार्डिलोले १३औं, क्रिस्टोफर एन्कुन्कुले १८औं र टीमो वेर्नरले ८१औं मिनटमा गोल गरे। यसरी नै रियलबाट विनिसियस जूनियरले ४४औं अनि रोड्रिगोले स्टपेज टाइममा गोल गरे। यस ग्रुपमा सेल्टिक र शाख्तर डोनेस्कबीच खेलिएको म्याच चाहिँ १-१-ले ड्र रह्यो। ग्रुपमा रियल अहिले पनि १० पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै दोस्रो स्थानमा रहने आरबी लिपजिगसँग ९ पोइण्ट रहेको छ।

शक्तिशाली म्यानचेष्टर सिटी पनि ग्रुप जी-को म्याचमा बोरुसिया डर्टमण्ड विरुद्ध गोलरहित (०-०) ड्र-मा रोकियो। डर्टमण्डको होम ग्राउण्डमा ७३ प्रतिशत पोजेशनको साथ खेल पनि सिटीले गोल गर्न सकेन। यस ग्रुपको अन्य एउटा म्याचमा स्पेनिश क्लब सेविलेले एफसी कोपेनहेगनलाई ३-०-ले पराजित गऱ्यो। ग्रुप जी-मा अहिले सिटी ११ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै डर्टमण्ड ८ पोइण्टको साथ दोस्रो अनि सेविले ५ पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ। यसरी नै ग्रुप ई-मा इटलीको क्लब एसी मिलानले क्रोएशियाको क्लब डिनामो जाग्रेब विरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। म्याचको मध्यान्तरसम्म एक गोलले अघि रहने एसी मिलानले दोस्रो हाफमा अझ ३ गोल छिरायो। यस ग्रुपको अन्य एउटा म्याचमा चेल्सीले आरबी साल्जबर्गलाई २-१-ले पराजित गऱ्यो। चेल्सीबाट म्याचको निर्णायक गोल काई हावेर्त्जले ६४औं मिनटमा छिराए। ग्रुप ई-मा अहिले चेल्सी १० पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै दोस्रो स्थानमा रहने एसी मिलानसँग ७ र तेस्रो स्थानमा रहने आरबी साल्जबर्गसँग ६ पोइण्ट रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement