३० मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत सोमवार भएको सुपर डीविजन लीगको अत्यन्तै रोमाञ्चक दोस्रो क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिसले शेयर एफसीलाई २-१-ले पराजित गऱ्यो। म्याचमा मध्यान्तरसम्म त पुलिसको टीम १ गोलले पछि रहेको थियो तर दोस्रो हाफमा २ गोलको साथ उनीहरूले सेमिफाइनलमा स्थान बनाए। विजेता टीमबाट रोशन र अनिवेशले गोल गरे। यसरी नै शेयर एफसीबाट सुजल मुण्डा (पोग्बा)-ले गोल गरे। कालेबुङ पुलिसले अब ३ जूनको दिन खेलिने दोस्रो सेमिफाइनलमा बेको फूटबल एकाडमीको चुनौती स्वीकार्नेछ। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ५ जूनमा हुनेछ।