समयमा नै गाडी जानु नपाएर सबै विद्यार्थीहरु घर फर्किनु बाध्य
खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटारदेखि महानदीसम्म पुग्ने सडकको खराब अवस्थाले गर्दा सोमवार बिहान विद्यार्थीहरु बोकेको एउटा गाडी उकालो चढ्दा बिग्रेर रोड नै अवरुद्ध हुँदा सिविटारदेखि विद्यार्थीहरु लिएर जाने गाडीहरु समयमा नै जान नपाएर सबै विद्यार्थीहरु पनि घर फर्किन बाध्य बनेका छन्। सिविटारदेखि महानदीमा रहेको राष्ट्रिय राजमार्गसम्म पुग्ने सडक अहिले अत्यन्तै जीर्णावस्थामा पुगेको छ। मरमत्ति हुँदै गरेको रोड बर्खाको समयमा मरमत्ति हुन सकेन अनि अहिले धेरै स्थानहरुमा रोड अत्यन्तै जीर्णावस्थामा पुगेकोले गाडीहरु चलाउन जोखिमपूर्ण बनेको छ। यस्तो अवस्थामा सोमवार बिहान ७ देखि ७:३० बजीको समयमा विद्यार्थीहरुलाई लिएर सिविटारबाट खरसाङ गईरहेको एउटा ईको भ्यान सिविटारको जिरोमाथिको गोलाईमा अचानक झण्डै दुर्घटना भएर बिग्रिन्दा उक्त गाडी पछाडी रहेका सबै गाडीहरु पनि रोकिएको थियो। सडकको खराब अवस्थाले गर्दा गाडी उकालोमा चढाउँदा गाडीको बुस्ट भाँचिएर बीच बाटोमा नै रोकिन्दा विद्यार्थीहरु लिएर जाने गाडीहरु सबै जान पाएनन्। चालकहरु मिलेर गाडी बनाएर साइड लगाउँदा बिहानको ९ नाघेकोले विद्यार्थीहरु समयमा नै जान नपाएर सबै विद्यार्थीहरु घर फर्किनु बाध्य भएका छन्। बाटोको अवस्थाले गाडी बिग्रेर सबै गाडीहरु रोकिन्दा महानदी, गिध्दे, खरसाङ आदि क्षेत्रमा पढ्ने विद्यार्थी बोकेका गाडीहरु, विमारी बोकेका गाडीहरु र अन्य पेसेञ्जर गाडीहरु, आपतकालीन सेवाको गाडीहरु पनि समयमा नै जान पाएनन्। सडकको खराब अवस्थाले गर्दा सिविटार क्षेत्रबाट कुद्ने गाडीहरु जोखिम उठाएर कुदिरहेका छन् भने चालकहरु पनि ज्यान हातमा राखेर गाडी कुदाईरहेका छन्। सडकको खराब अवस्थालाई मध्यनजर राखेर सम्बन्धित विभागबाट सिविटारबाट महानदीसम्म जाने रोडको झण्डै मरमत्ति गरियोस् भनी स्थानीयहरु र चालकहरुले माग गरेका छन्। सिविटारबाट दैनिक ७-८ वटा गाडीहरु विद्यार्थीहरुलाई लिएर कुद्ने गरेको र अन्य पेसेञ्जर गाडीहरु लगाएर दैनिक १४-१५ वटा गाडीहरु कुद्ने गरेका छन् भने यसको साथै पर्यटकहरु लिएर आउने गाडीहरु, माल सामानहरु बोक्ने गाडीहरु, स्कुटी बाइकहरु धेरै कुद्ने गरेका छन्। तर सडकको खराब अवस्थाले दैनिक गाडी कुदाउने चालकहरुलाई धेरै हानी भईरहेको र गाडी कुदाउनभन्दा बेसी गाडीको मरमत्ति गर्न पर्ने बाध्यता रहेको छ। यस्तो अवस्थामा कुनै पनि समय दुर्घटना हुन सक्ने खतरा पनि देखिएको छ। यस्तै आज बिहान विद्यार्थीहरु बोकेको गाडी उकालो चढ्दा बिग्रिएर गाडीहरु समयमा नै जान पाएनन् भने विद्यार्थीहरु सबै ढिलो भएर घर फर्कन बाध्य बनेका छन्। त्यसैले स्थानीयहरु र चालकहरुले यस रोडको झट्टै मरमत्तिको लागि सम्बन्धित विभाग र ठेकेदार समक्ष माग गरेका छन्। यस विषयमा सिविटार चालक एसोसिएसनको सभापति आशिष राई र एकजना सिविटारका चालक साथै दोकाने अजय तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।





