ट्रम्पको कडा नीतिको असर : अमेरिकाबाट ७६० नेपाली डिपोर्ट, ३७ महिला

b2d83e77-b2bd-461d-82ce-49d3bb3062d4

वाशिंगटन :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि अमेरिकामा रहेका नेपालीमाथि पनि कडा आप्रवासन नीतिको असर देखिएको छ। २०२५ जनवरी २० पछि मात्रै ७६० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्किएका छन्। डिपोर्ट हुनेमा ३७ जना महिला छन्।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पछिल्लो ८ आर्थिक वर्षमा अमेरिकाबाट कुल ९८६ जना नेपाली डिपोर्ट भएका छन्। त्यसको ठूलो हिस्सा ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि देखिएको हो।
डिपोर्ट भएर नेपाल फर्किने नेपालीमध्ये भिजिट भिसामा अमेरिका गएर लुकेका तथा अवैध बाटोबाट अमेरिका प्रवेश गरेका धेरै रहेको ब्यूरोले जनाएको छ। अमेरिकाले पछिल्लो समय नेपालीलाई चार्टर्ड विमानमार्फत समेत नेपाल फर्काउँदै आएको छ भने नियमित उडानबाट पनि डिपोर्ट भएका नेपाली आउने गरेका छन्।
ट्रम्प प्रशासनको कडा नीतिको अर्को पाटो अमेरिकामा लामो समयदेखि बसिरहेका नेपालीमाथि समेत देखिएको छ। २०८२ पुसमा अमेरिकामा पीआर लिएर करिब ३० वर्षदेखि बस्दै आएका एक नेपालीको पीआर नवीकरण नभएपछि उनलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको ब्यूरोको तथ्याङ्कमा उल्लेख छ।
अमेरिकाबाट फर्काइएका नेपालीमध्ये थोरैले मात्र आफूलाई अमेरिका पठाउने गिरोहविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोमा अहिलेसम्म अमेरिका पठाउने गिरोहविरुद्ध ९ वटा जाहेरी दर्ता भएर अनुसन्धान भइरहेको एसपी राजन लिम्बुले बताएका छन्।
एकैपटक ठूलो सङ्ख्यामा नेपालीलाई नेपाल फर्काइएको घटना पनि देखिएको छ। २०८२ असारमा अमेरिकाको एरिजोना र हवाईबाट ओम्नी एयर इन्टरनेशनलको चार्टर विमानमार्फत एकैदिन ३७ जना नेपाली नेपाल फर्किएका थिए।
ब्यूरोको तथ्याङ्कले देखाएको अर्को महत्वपूर्ण कुरा के हो भने अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ट्रम्पको दोस्रो कार्यकालमा तीव्र रूपमा बढेको छ। पछिल्लो ८ आर्थिक वर्षमा डिपोर्ट भएका ९८६ जनामध्ये ७६० जना २०२५ जनवरी २० पछि मात्रै फर्काइएका हुन्।
यसले अमेरिकामा गैरकानुनी रूपमा बसिरहेका नेपाली मात्र होइन, अमेरिका पुग्ने नाममा मानव तस्कर तथा बिचौलियालाई ठूलो रकम बुझाएर जोखिमपूर्ण बाटो रोज्ने नेपालीका लागि समेत गम्भीर चेतावनी दिएको छ।

About Author

Advertisement