खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको घुम्ती चिया कमानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टमा युनाईटेड घुम्ती स्पोर्टिङ क्लब सेमी फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। गत २५ सेप्टेम्बरदेखि युनाईटेड घुम्ती स्पोर्टिङ क्लबको आयोजनामा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत भएको प्रथम क्वाटर फाईनल खेलमा घैयाबारी बोईजलाई ४-१ को अन्तरले हराउँदै युनाईटेड घुम्ती स्पोर्टिङ क्लब सेमी फाइनलमा प्रवेस गरेको छ। आज सम्पन्न घैयाबारी बोइज र युनाईडेट घुम्ती स्पोर्टिङ क्लबमाझ घमासन खेल भएको थियो। आज भएको खेल हेर्न दर्शकहरू निक्कै भीड़ देखिएको थियो भने दर्शकहरूले दुवै दलमाझ राम्रो प्रतिद्वान्दिता देख्न पाएको बताएका छन्। यस पहिलो क्वाटर फाईनल खेलमा पहिलो हाफको समयसम्म दवै दलले गोल गर्न सकेनन्। तर दोस्रो हाफको खेल शुरू भएको दुई मिनटमा नै युजीएससीका विदेशी खेलाडी बुसकेटले एक सुन्दर गोल गरेर बढ़त बनाएका थिए। तर उक्त गोलको लगत्तै एक मिनट नबित्दै घैयाबारी बोईजका खेलाडी सुबम राईले पनि गोल गरेर आफ्नो दललाई बराबरीमा पुराएपछि खेल झनै रोमाञ्चक मोढमा पुगेको थियो। दोस्रो हाफको अन्तिम समय युजीएससीको पक्षबाट राजीव प्रधानले एक गोल छिराएर फेरि बढ़त बनाएको थियो। यसको लगत्तै पुन: यही दलका रोनिक राईले लगातार दुईवटा गोल हालेपछि अन्त्यमा ४-१ को अन्तरले युनाईटेड घुम्ती स्पोर्टिङ क्लबले जीत हाँसिल गर्दै सेमी फाइनलमा पुग्ने पहिलो दल बनेको छ। तिहारको माहोल भएको हुनाले आज धेरै चभन्दा धेरै दर्शकहरू उपस्थित रहेको आयोजक समितिको सचिव प्रवीण दर्नालले जानकारी गराएका छन्। उनले बताए अनुसार अब अर्को क्वाटर फाईनल खेल आगामी शनिवार २९ जूनको दिन हुने भएको छ र उक्त दोस्रो क्वाटर फाईनल खेल गोर्खा बोईज अनि मिक्स अप महानदीबीच हुने भएको छ। उल्लेखनीय छ गत २५ सेप्टेम्बरदेखि युनाईटेड घुम्ती स्पोर्टिङ क्लबको आयोजनामा घुम्ती कमानको खेल मैदानमा भईरहेको नगदराशि खुल्ला फुटबल टुर्नामेन्टको बिजेतालाई एक लाख अनि उप बिजेतालाई पचास हजार ट्रफिसहित प्रदान गरिने भएको छ।