विद्यार्थीहरूका लागि खुल्नेछन् नयाँ वैश्विक अवसर
कोलकाता। द इन्स्टिच्युट अफ लिडरसिप, इन्टरप्रिन्योरसिप एन्ड डेभलपमेन्ट (आईलिड) र अलायन्स फ्रान्सेजी दु बङ्गलेबीच विद्यार्थीहरूलाई फ्रान्सेली (फ्रान्सिस) भाषा सिकाउन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न एक रणनीति साझेदारी सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ। कोलकातास्थित आईलिड परिसरमा आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य संस्थानमा भाषा शिक्षालाई मजबुत बनाउनु र विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय अवसरहरूको ढोका खोल्नु हो।

यस साझेदारीअन्तर्गत आईलिडमा फ्रान्सेली भाषाको पठनपाठनलाई थप व्यवस्थित रूप दिइनेछ, जसबाट विद्यार्थीहरूले भाषा कौशलका साथै फ्रान्सेली संस्कृति, कला र विश्वव्यापी व्यावसायिक वातावरणलाई बुझ्ने अवसर पाउनेछन्।
सम्झौताका क्रममा अलायन्स फ्रान्सेजी दु बङ्गलेका निर्देशक मार्क बोडिनले यो साझेदारी भाषा सिकाउनमा मात्र सीमित नरहेर म्यानेजमेन्ट, मार्केटिङ, हस्पिटालिटी, सिनेमा, साहित्य र कलाजस्ता विभिन्न क्षेत्रहरूमा करियरका नयाँ अवसरहरू उपलब्ध गराउने माध्यम बन्ने बताए।
त्यसैगरी आईलिडका अध्यक्ष प्रदीप चोपडाले यस पहललाई विद्यार्थीहरूको शैक्षिक तथा वैश्विक करियरका लागि कोसेढुङ्गा साबित हुने बताउँदै यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउने र विद्यार्थीहरूलाई नयाँ दृष्टिकोणबाट संसारलाई हेर्ने अवसर प्रदान गर्ने उल्लेख गरे। यस सहकार्यबाट विभिन्न संस्कृतिहरूबीच संवाद र सहभागिताका लागि एउटा व्यापक मञ्च तयार हुने अपेक्षा गरिएको छ।





