सिलगढी: आईटी पार्कमा सञ्चालन भइरहेको अवैध कल सेन्टरमा पुलिसको छापा, नौ पक्राउ

Screenshot_20260912_010845_Chrome

सिलगढी: ​सिलगढीको मध्यवर्ती इलाका परिवहन नगरस्थित वेबेल आईटी पार्कभित्र गैरकानुनी रूपमा सञ्चालन भइरहेको कल सेन्टरमा माटीगाडा थाना पुलिसले छापा मारी चार महिलासहित नौ जनालाई पक्राउ गरेको छ।
​गएराति चलाइएको उक्त विशेष अभियानको नेतृत्व पूर्व क्षेत्रका पुलिस उपायुक्त चारु शर्मा र सहायक पुलिस आयुक्त रोबिन थापाले गरेका थिए। केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) बाट प्राप्त सूचनाका आधारमा सिलगढी पुलिस आयुक्तालयका विभिन्न थानाका करिब दुई सय पुलिसकर्मीको टोलीले वेबेल आईटी पार्क र लिचुबागानस्थित अर्को आईटी पार्कमा एकसाथ छापा मारेको थियो। राति करिब साढे एक बजेसम्म चलेको तलासी अभियानका क्रममा ठूलो परिमाणमा कम्प्युटर, विद्युतीय उपकरण र कागजातहरू जफत गरिएको छ।
​प्रारम्भिक अनुसन्धानअनुसार ग्राहक सहायता केन्द्रको नाममा साइबर ठगी तथा अवैध वित्तीय कारोबार सञ्चालन भइरहेको थियो, जसमा फर्जी र म्यूल बैंक खाताहरूको प्रयोग गरिएको खुलेको छ।
​सरकारी पूर्वाधारमै रहेको वेबेल आईटी पार्कमा यस्ता अवैध गतिविधि कसरी र कसको मिलेमतोमा सञ्चालन भइरहेका थिए भन्नेबारे पुलिसले सुक्ष्म अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका आरोपीहरूलाई आज अदालतमा पेस गरी थप अनुसन्धानका लागि पुलिस हिरासतमा लिने तयारी भइरहेको छ।

About Author

Advertisement