गान्तोक: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा लेहमा आयोजित उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरणसम्बन्धी संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी भएका छन्।
जारी प्रेस विज्ञप्तिअनुसार अध्ययन भ्रमणका क्रममा समितिले लद्दाखका मुख्य सचिवको उपस्थितिमा भारतीय खाद्य निगम (एफसीआई) र केन्द्रीय भण्डारण निगम (सीडब्ल्यूसी) का अधिकारीहरूसँग छलफल गरेको छ। सो अवसरमा विकट भौगोलिक क्षेत्रमा खाद्यान्न भण्डारण, वितरण, अत्यावश्यक वस्तुको आपूर्ति तथा सार्वजनिक वितरण प्रणाली (पीडीएस) सञ्चालनमा देखिने चुनौतीबारे समीक्षा गरियो।
यसैगरी, समितिले उपभोक्ता मामिला विभाग, वित्तीय सेवा विभागका प्रतिनिधि तथा भारतीय स्टेट बैंक, पञ्जाब नेसनल बैंक, युको बैंक, बैंक अफ बडौदा र जम्मू-कश्मीर बैंकका उच्च अधिकारीहरूसँग पनि अन्तरक्रिया गरेको छ।
छलफलका क्रममा ग्राहक सेवाको गुणस्तर, बढ्दो बैंकिङ तथा वित्तीय ठगी नियन्त्रण, उपभोक्ता सचेतना र सरकारी अनुदानमा आधारित ऋण सुविधाहरूबारे विचार-विमर्श भयो। लक्षित वर्गसम्म सरकारी योजनाहरूको प्रभावकारी पहुँच सुनिश्चित गर्न अपनाउनुपर्ने कदमहरूबारे पनि समितिले जोड दिएको छ।
यस अध्ययन भ्रमणले उपभोक्ता हित, खाद्य सुरक्षा र वित्तीय समावेशीतालाई सुदृढ बनाउन स्थलगत वस्तुस्थिति र चुनौती बुझ्न महत्त्वपूर्ण सहयोग पुऱ्याएको बताइएको छ।





