‘विकसित भारत युवा नेतृत्व संवाद’ का लागि सिक्किमका युवालाई आह्वान

FB_IMG_1789154640234

गेजिङ: ​युवा मामिला तथा खेलकुद मन्त्रालयअन्तर्गतको ‘माई भारत, सिक्किम’ले राज्यका युवाहरूलाई ‘विकसित भारत युवा नेतृत्व संवाद २०२७’ मा सहभागी हुन आह्वान गरेको छ। राज्यका प्रत्येक जिल्ला र सबै वर्गका युवाहरूको सहभागिता सुनिश्चित गराउने उद्देश्यका साथ यो पहल अघि बढाइएको हो।
​शुक्रबार माई भारतको गेजिङस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला युवा अधिकारी प्रदीप बैस्ला तथा स्वयंसेवकहरू लेखक शर्मा, युगल सुबेदी र भानु शर्माले कार्यक्रम र छनोट प्रक्रियाबारे जानकारी दिए। उनीहरूका अनुसार यो राष्ट्रिय पहलले ‘विकसित भारत@२०४७’ को परिकल्पना साकार पार्न युवाहरूलाई आफ्ना विचार, सिर्जनशीलता, नवप्रवर्तन र नेतृत्वदायी दृष्टिकोण प्रस्तुत गर्ने मञ्च प्रदान गर्नेछ।
​यस कार्यक्रममा १५ देखि २९ वर्ष उमेर समूहका युवाहरू सहभागी हुन पाउनेछन्। छनोटको पहिलो चरणका रूपमा ‘विकसित भारत प्रश्नोत्तरी’ माई भारतको आधिकारिक वेबसाइटमा सञ्चालन भइरहेको छ। १७ अगस्टदेखि सुरु भएको यो प्रश्नोत्तरी ३० सेप्टेम्बरसम्म खुल्ला रहनेछ, जसमा सहभागीले १० मिनेटभित्र २० वटा प्रश्नको उत्तर दिनुपर्नेछ।
​त्यसैगरी, ‘विकसित भारत चुनौती’ विभिन्न पाँच चरणमा सम्पन्न हुनेछ। प्रश्नोत्तरीपछि आयोजना हुने निबन्ध प्रतियोगितामार्फत प्रत्येक जिल्लाबाट उत्कृष्ट ५० निबन्ध छनोट गरी प्रत्यक्ष प्रस्तुतीकरण गराइनेछ। जिल्ला तहबाट उत्कृष्ट दुई प्रस्तोतालाई राज्यस्तरीय संवादमा पठाइनेछ, जहाँबाट प्रदर्शनका आधारमा राष्ट्रिय चरणका लागि अन्तिम टोलीको छनोट हुनेछ।
​प्रतियोगितामा निबन्धबाहेक सांस्कृतिक विधा, भारतका लागि डिजाइन, सामाजिक उद्देश्यका लागि नवप्रवर्तन, युवा उद्यमी र युवा संसदजस्ता विषयहरू समेटिएका छन्। यो अवसर केवल शैक्षिक रूपमा उत्कृष्ट वा प्रतिष्ठित संस्थामा अध्ययनरत युवामा मात्र सीमित नरही सबै क्षेत्र र रुचिका युवाका लागि खुला रहने आयोजकले स्पष्ट पारेका छन्।

About Author

Advertisement