कोलकाता: पश्चिम बंगालमा नयाँ सरकार गठनपछि पहिलोपटक दुर्गापूजा आयोजना हुँदैछ। त्यसैले यस वर्षको शारदीय उत्सवलाई लिएर सर्वसाधारणदेखि पूजा समितिसम्म विशेष उत्सुकता देखिएको छ। राज्य सरकारले दिने दुर्गापूजा अनुदान, विद्युत् महसुलमा छुट, सरकारी शुल्क माफी तथा पूजा कार्निभललगायत विषयमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज सोमबार मिलन मेला प्राङ्गणबाट सरकारको योजना सार्वजनिक गर्ने भएका छन्।
सबैभन्दा ठूलो चासो भने अनुदान कसले पाउने र रकम कति हुने भन्नेमा छ। यसअघि करिब ४५ हजार पूजा समितिले १ लाख १० हजार रुपैयाँसम्म अनुदान पाउँदै आएका थिए। साथै विद्युत् बिलमा ८० प्रतिशत छुट र दमकलसहित विभिन्न सरकारी शुल्क माफीको व्यवस्था थियो।
मुख्यमन्त्रीले यसअघि आवश्यकतामा आधारित पूजा समितिलाई मात्र अनुदान दिने संकेत गरेका थिए। आजको कार्यक्रममा दुर्गापूजाको व्यवस्थापन, मूर्ति निर्माण, पूजा विधि, भोग वितरण र कार्निभलसम्बन्धी विस्तृत योजना पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसैबीच वृद्ध, विधवा तथा दिव्याङ्ग भत्ता बढाएर लाभग्राहीको बैंक खातामा पठाउने प्रक्रिया पनि सुरु गरिनेछ।





