देउसी-भैलोमा रमझमियो सोनादाको प्रशान्ति ग्राम  

दार्जीलिङ : अहिलेघरि रमाइलो तिहारको रमझममा समग्र दार्जीलिङ पहाड सयपत्री फूल र रङ्गीबिरङ्गी बत्तीले झिलिमिली भएको छl विश्वभरि छरिएर बसेका नेपालीहरु आफ्नो चाडपर्व मनाउन कहिले पछि पार्दैनन्l जसरी शरीरलाई छायाँले पछ्याइरहेको हुन्छ त्यस्तै हरेक व्यक्तिलाई उसको संस्कार, परम्परा र संस्कृतिले पछ्याइरहेको हुन्छl विश्वका कुनै पनि कुनामा बसेका नेपालीले तिहारका बेलामा देउसी-भैलो बिर्सेको कहिले पो होला र!

दार्जीलिङदेखि करिब १८ किलोमिटर टाडो सोनादा बजारको गाउँ प्रशान्ति ग्राममा आज पनि नेपाली संस्कृतिलाई निक्कै कसिलो रुपमा संरक्षण गर्दै आइरहेको छl आज पनि त्यहाँ नेपाली पारम्परिक घर निर्माण गरेर समग्र गाउँले सामूहिक रुपमा देउसी-भैलो खेल्ने गरेको छl यसको निम्ति त्यहाँ देउसी-भैलोको कार्यक्रम बर्षेनी आयोजना गरिन्छl यसपाली भने प्रशान्ति ग्राममा देउसी-भैलोको विशेष कार्यक्रममा समग्र गाउँ नै रौसिलो परिवेशमा रम्मियोl गाउँभरका युवा-युवतीदेखि बुढापाका सबै नै तिहारको यस विशेष कार्यक्रममा रमझमिएl सन् २००० देखि प्रगति ग्राममा नेपाली परम्पराअनुसार देउसी-भैलोको विशेष कार्यक्रम आयोजना गरिन थालेको होl

सन् १९७७ मा प्रशान्ति ग्रामको नाम गैरी गाउँ थियो अनि त्यहाँ गैरी गाउँ ग्राम सुधार समिति गठन भएको थियोl त्यति बेला गैरी गाउँमा समितिले घर घरमा गएर देउसी-भैलो खेल्ने गर्थ्योl बिस्तारै गैरी गाउँ पनि समयअनुसार विस्तार हुँदै जान थाल्योl गाउँको क्षेत्रफल बढ्न थालेपछि गाउँको नाम प्रशान्ति ग्राम राखियो अनि सन् २००० देखि गैरी गाउँ ग्राम सुधार समितिको नाम पनि प्रशान्ति ग्राम सुधार समिति राखियोl प्रशान्ति ग्रामको देउसी-भैलोमा नेपाली संस्कृतिको झर्रापन झल्किएको छl नेपाली पारम्परिक घरको अघि झर्रापनमा देउसी-भैलोको प्रस्तुति हेर्दा कुनै चलचित्रको दृश्य हेरेको जस्तो लाग्छl प्रगति ग्राम सुधार समितिको देउसी- भैलोको विशेष कार्यक्रम सोनादाको मिडिया हाउस कन्चनजङ्घा टाइम्ससित संयुक्त रुपमा आयोजना गरिएको थियोl

प्रशान्ति ग्राम सुधार समितिले देउसी-भैलोको कार्यक्रम मात्र होइन गाउँमा विशेष कार्यक्रम पनि आयोजना गर्ने गरेको छl आउँदो ३० अक्टोबरको दिन हुने विशेष कार्यक्रम आयोजना गरिने समितिका प्रचारप्रसार सचिव कमल लामाले बताएका छन्l सो कार्यक्रममा गाउँका सामाजिक कार्यमा सक्रिय रहने विशिष्ट व्यक्तिहरु, भूतपूर्व सैनिकहरु, मेधावी विद्यार्थीहरु र प्रतिभाशाली व्यक्तिहरुलाई अभिनन्दन जनाइने जानकारी उनले दिएका छन्l              

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *