इसरोद्वारा २,३०० किलोभन्दा बढी तौलको भू-उपग्रह प्रक्षेपण
नयाँ दिल्ली: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले शुक्रबार इतिहास रच्दै भू-तुल्याकालिक कक्षा (जियोसिंक्रोनस अर्बिट) मा स्थापित हुने देशकै पहिलो ‘इमेजिङ’ उपग्रह ईओएस-०५ को सफल प्रक्षेपण गरेको छ।
आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन स्पेस सेन्टरबाट जीएसएलभी-एफ१७ रकेटमार्फत २,३६७ किलोग्राम तौल भएको उपग्रहलाई सफलतापूर्वक तोकिएको कक्षामा स्थापित गरिएको हो।
आकाशबाट निगरानी राख्ने ‘आँखा’
मिसनका वरिष्ठ वैज्ञानिकहरूका अनुसार यो उपग्रहले आकाशबाट पृथ्वीको वास्तविक समय (रियल टाइम) मा तस्बिरहरू पठाउनेछ। यसले कृषि र विपद् व्यवस्थापनका क्षेत्रमा ठूलो सहयोग पुर्याउनेछ। इसरो प्रमुख वी. नारायणनले सफल प्रक्षेपणको घोषणा गर्दै यो श्रीहरिकोटाबाट १०७ औँ र जीएसएलभीको १९ औँ मिसन भएको जानकारी दिए।
उनका अनुसार जीएसएलभी रकेटबाट पठाइएको यो अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो। यसको कार्यअवधि ९ वर्षको रहनेछ।
जटिल र अत्याधुनिक प्रविधि
करिब ३६,००० किलोमिटरको उचाइमा रहने यो उपग्रहले पृथ्वीको घुम्ने गतिसँग तालमेल मिलाएर काम गर्नेछ। यसअघि सन् २०२१ मा जीएसएलभी-एफ१० मिसन असफल भएको थियो भने यो वर्षको सुरुमा जनवरी १२ मा भएको पीएसएलभी मिसनमा पनि प्राविधिक समस्या आएको थियो। यी असफलतापछि इसरोका लागि यो मिसन ठूलो सफलताको रूपमा हेरिएको छ।





