सिक्किमका कारीगरहरूका लागि बजार पहुँच विस्तार गर्ने लक्ष्य
गान्ताेक: सिक्किमका स्थानीय जनजातीय कारीगरहरूलाई सबल बनाउने र उनीहरूका उत्पादनलाई बृहत् बजारसम्म पुर्याउने उद्देश्यका साथ गान्ताेकमा एकदिवसीय ‘जनजातीय कारीगर सूचीकरण मेला’ (टीएईएम) भव्य रूपमा सम्पन्न भएको छ। सूक्ष्म, लघु तथा मध्यम उद्यम विकास एवम् सहजीकरण कार्यालय (एमएसएमई-डीएफओ), ग्याङटोक र भारतीय जनजातीय सहकारी बजार विकास महासङ्घ लिमिटेड (ट्राइफेड) को संयुक्त आयोजनामा देओरालीस्थित एमएसएमई-डीएफओको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बा मुख्य अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी वाणिज्य तथा उद्योग विभागका प्रमुख निर्देशक एम. रवि कुमार (आईएफएस), ट्राइफेड (क्षेत्रीय कार्यालय गुवाहाटी) का क्षेत्रीय प्रबन्धक पामथिङ केसिङ, एमएसएमई-डीएफओ गान्ताेकका कार्यालय प्रमुख निर्मल चौधरी (आईईडीएस), सहायक निर्देशक अक्षय मुर्कुटे र डा. राहुल काम्ब्ले लगायत विभिन्न अधिकारी तथा जनजातीय कारीगरहरूको बाक्लो उपस्थिति रहेको थियो।
स्थानीय उत्पादनलाई विश्वव्यापी बजारमा लैजान सांसद सुब्बाको आह्वान
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि तथा सांसद डा. इन्द्र हाङ सुब्बाले समृद्ध सिक्किम निर्माणमा समाजका सबै वर्गको सामूहिक जिम्मेवारी रहने बताए। “हाम्रा कारीगर र उद्यमीहरूले जोखिम मोलेर, कडा परिश्रमका साथ बजारका लागि उत्पादन तयार पारिरहेका छन्। राज्यको आर्थिक विकासमा उनीहरूको भूमिका अतुलनीय छ,” डा. सुब्बाले भने।

व्यवसाय रातारात सफल नहुने उल्लेख गर्दै उनले धैर्य र निरन्तरताका साथ दीर्घकालीन सोच राखेर काम गर्न कारीगरहरूलाई आग्रह गरे। केन्द्र तथा राज्य सरकारले पिएम विश्वकर्मा जस्ता विभिन्न योजनाहरूमार्फत ग्रामीण क्षेत्रका परम्परागत कारीगरहरूलाई सहयोग पुर्याइरहेको बताउँदै उनले सिक्किमका विशिष्ट परम्परागत सिपलाई पनि उपयुक्त सरकारी योजनाहरूमा समावेश गराउन पहल गर्ने प्रतिबद्धता जनाए। साथै, सिक्किमका थप योग्य कारीगरहरूलाई समेट्न पिएम विश्वकर्माको दोस्रो चरण खुलाउन केन्द्र सरकारसँग कुरा राख्ने उनले बताए।
कारीगरहरूलाई सिक्किमको स्थानीय बजारमा मात्र सीमित नभई डिजिटल र ई-कमर्स प्लेटफर्ममार्फत देशभरिका बजार खोज्न आग्रह गर्दै उनले भने, “सिक्किमका उत्पादनहरूमा उत्कृष्ट गुणस्तर र सम्भावना छ। प्रभावकारी बजारीकरण हुन सके कारीगरहरूको आम्दानी बढ्नुका साथै राज्यको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ।”
डिजिटल बजारीकरण र ई-कमर्समा जोड
वाणिज्य तथा उद्योग विभागका प्रमुख निर्देशक एम. रवि कुमार (आईएफएस) ले स्थानीय उत्पादनलाई सही मूल्य दिलाउन प्रभावकारी बजारीकरण आवश्यक रहेको बताए। उनले कारीगरहरूलाई अमेजन, फ्लिपकार्ट, मिसो तथा सरकारी ई-मार्केटप्लेस (जीईएम) जस्ता डिजिटल प्लेटफर्मका साथै सोसियल मिडियाको भरपुर प्रयोग गर्न सुझाव दिए।
सिक्किममा उत्पादित वस्तुहरू बेङ्गलुरु र दिल्ली जस्ता सहरमा निकै उच्च मूल्यमा बिक्री भइरहेको उदाहरण दिँदै उनले सही बजारको पहिचान गरी आफ्ना उत्पादनको प्रचार-प्रसार गर्न आग्रह गरे।
परम्परागत कलाको संरक्षण युवा पुस्ताबाटै सम्भव: पद्माश्री जोर्डन लेप्चा
कार्यक्रममा बोल्दै पद्माश्री विजेता जोर्डन लेप्चाले परम्परागत कला र ज्ञानलाई जोगाउन नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्नेमा जोड दिए। सरकारले दिएको सहयोगको प्रशंसा गर्दै उनले भने, “सरकारी सहयोग आफ्नै ठाउँमा छ, तर आफ्नो कला र संस्कृति बचाउने मुख्य जिम्मेवारी कारीगर स्वयम्को हो।” उनले आफू अझै पनि युवाहरूलाई परम्परागत हस्तकलाको तालिम दिन सक्रिय रहेको बताए।
यसअघि, एमएसएमई-डीएफओ ग्याङटोकका प्रमुख निर्मल चौधरीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए। कार्यक्रममा राज्यभरिबाट आएका अनुसूचित जनजाति (एसटी) कारीगरहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गरेका थिए। कार्यक्रमको समापन सहायक निर्देशक डा. राहुल काम्ब्लेले धन्यवाद ज्ञापन गर्दै गरेका थिए।





