२४ अक्टोबरः रिषिहाट टी स्टेट, दार्जीलिङको जीवन ज्योति परिवारको तत्त्वावधानमा आयोजित ओपन गर्ल्स नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार पहिलो राउण्डको एउटा म्याच खेलियो। म्याच एकतर्फी रह्यो, जसमा एनडीजीएससी राना डाँड़ाले जयश्री रिषिहाट भेटरन्सलाई १०-१-ले पराजित गऱ्यो। विजेता टीमबाट श्रेजल राईले ५ गोल गरिन्। यसबाहेक आकृति सुब्बा र स्रिष्टिका राईले २-२ अनि सुष्मिता सुब्बाले १ गोल गरिन्। यसरी नै जयश्री रिषिहाट भेटरन्सबाट स्मिता तामाङले १ गोल गरिन्। यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको अघिल्लो म्याच शनिवार खेलिने आयोजक समितिको तर्फबाट सिद्धान्त तामाङले बताएका छन्।