काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली काठमाडौंले पाकिस्तानका अदनान खान र अहमद मुस्तफा खानलाई अनुबन्ध गरेको छ।
काठमाडौंले एनभीएलको पहिलो संस्करणका लागि सेटर अदनान र आउटसाइड हिटर अहमदलाई अनुबन्ध गरेको हो। अहमदले पाकिस्तानको सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका छन् भने अदनानसँग उमेर समूहमा पाकिस्तानको प्रतिनिधित्व गरेको अनुभव छ।
अहमदले यसअघि पनि नेपालमा खेलिसकेका छन्। उनले नवौँ एनभीएल कप महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा रुकुम पश्चिमको प्रतिनिधित्व गरेका थिए।
अदनानसँग पनि नेपाली क्लबबाट खेलिसकेको अनुभव छ। उनले हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबाट नेपालका विभिन्न प्रतियोगितामा सहभागिता जनाएका छन्।
काठमाडौं टोलीका मुख्य प्रशिक्षक नृपबहादुर विक र सहायक प्रशिक्षक मोतिराम नेपाली रहेका छन्। सुनिल बोहरा मार्की खेलाडीका रूपमा रहेका छन्।
काठमाडौंले अक्सनमार्फत सन्तोष राई, चिरञ्जीवी खड्का, सन्तोष विक, बलदेवसिंह धामी, जितबहादुर ढुंगेल, पुष्करसिंह धामी र दिपेश कुँवरलाई अनुबन्ध गरेको थियो। त्यसैगरी, टोलीले ‘ट्यालेन्ट हन्ट’ बाट दिलीप विकलाई छनोट गरेको छ।
एनभीएलको पहिलो संस्करण यही सितम्बर ४ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सुरु हुँदैछ।





