खरसाङ: सुब्रतो कप जुनियर च्याम्पियनशीप खेलेर फर्किएका सोहित थिङ, अन्मोल गुरूङ अनि नितेन लामालाई खरसाङमा स्वागत अनि सम्वर्द्धना जनाइएको छ। यी खेलाड़ीहरू कोर्बेट एफसी उत्तराखण्डबाट दिल्लीमा सम्पन्न सुब्रतो जुनियर राष्ट्रिय कप खेलेर फर्किएका हुन्। यी खेलाड़ीहरू राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक नगेन तामाङद्वारा सञ्चालित हिल फुटबल अकादमीका विद्यार्थीहरू हुन् र यस अकादेमी मुख्य प्रशिक्षक नगेन तामङले यी खेलाडीहरूलाई खरसाङबाट फठाएका थिए। यी खेलाडीहरूले खरसाङलाई प्रतिनिधित्व गरेकोमा नगेन तामाङले खुशी व्यक्त गर्दै आगमी दिनमा अझ राम्रो खेल प्रदर्शन गर्न मेहनत गरेर भावी पिढीलाई असल मार्ग दर्शन दिने शुभकामना दिएका छन्। स्वागत समारोहमा खरसाङ फुटबल एसोसिएसन, खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएसन, खरसाङ ब्याड मिन्टन एसोसिएसन, युकेएफसी, हिल सेवेन, खरसाङ डिभिजनल बडी बिल्डिङ अनि फिट्नेस एसोसिएशनका पदाधिकारीहरू, भागोप्रपा नेता तथा युवा शक्ति खरसाङ महकुमा अध्यक्ष पेमेन्द्र गुरूङ, खरसाङ पुलिस टीओपी प्रभारी अनि खरसाङ ट्राफिक प्रभारी दोर्जे शेर्पाले यी खेलाडीहरूलाई खदा लगाएर स्वागत जनाउँदै अभिनन्दन व्यक्त गरेका थिए। सुब्रतो जुनियर राष्ट्रिय कप अगस्ट २०२२ देखि शुरू भएको थियो र अन्तिम सत्र यसै अक्टोबर महिनामा सम्पन्न भएको थियो। कार्बेट एफसी यो खेलमा चौथो स्थानमा रहेको छ। स्वागत कार्यक्रमपछि खेल प्रेमीहरूद्वारा यी खेलाडीहरूलाई लिएर रेलीको साथमा खरसाङ बजार परिक्रमा गरियो अनि सबै संघ-संस्थाहरूद्वारा खेलाडीहरूलाई अभिनन्दन जनाउँदै आगामी दिनको निम्ति शुभकामना प्रदान गरियो। खरसाङको रेलवे स्टेशनमा भएको स्वागत कार्यक्रमलाई युकेएफसीका सह सचिव चिराग तिवारीले सञ्चालन गरेका थिए।