दार्जिलिङ: साहित्य अकादमी र साउथ फिल्ड कलेजको संयुक्त आयोजनामा दार्जिलिङमा दुई दिवसीय पूर्वी क्षेत्रीय युवा सम्मेलनको समापन भएको छ। २२ र २३ अक्टोबरमा दुई दिवसीय रूपमा पूर्वी क्षेत्रीय युवा लेखक सम्मेलन विभिन्न भाषाका युवाहरूलाई लिएर गरिएको उक्त कार्यक्रमको दोस्रो दिन दुईवटा सत्र सम्पन्न भएको छ। दोस्रो दिनको पहिलो सत्रमा बहुभाषी कथा पठन कार्यक्रम सम्पन्न भएको छ। उक्त सत्रको कथा पठन कार्यक्रमलाई बिजयनन्द सिंहले अध्यक्षता गरेका थिए। यस सत्रमा पूर्वोत्तरका विभिन्न भाषाका युवाहरू जस्तै बोडो भाषाबाट सेल्फ मेड रानी बोरो, मैथिलीबाट श्रवणकुमार मण्डल, ओड़ियाबाट जोगेश्वर पंडा र मणिपुरीबाट केइथेलकपम लंडन आदिले आफ्नो आफ्नो भाषामा कथाहरू र हिन्दीमा अनुदित कथाहरू पनि पठन गरेका थिए।
त्यसरी दोस्रो दिनको दोस्रो सत्रमा बहुभाषी कविता पाठ कार्यक्रम सम्पन्न गरिएको थियो। यस सत्रलाई ओम नारायण गुप्ताले सञ्चालन गरेका थिए। यस सत्रमा कविहरू क्रमैले मणुपुरीबाट निंगोन्बम राणा, नेपालीबाट मोनिका राणा, ओड़ियाबाट त्रिलोचन साहू, सन्तालीबाट गणेश मराण्डी र टोटोबाट दिव्या टोटो आदिले आफ्नो आफ्नो भाषामा साथै हिन्दी र अंग्रेजीमा अनुदित कविताहरू पनि पठन गरेका थिए। अन्तिम सत्रमा साहित्य अकादमीको क्षेत्रीय सचिव देबेन्द्रकुमार देवेसले वक्तव्य राखेका थिए। दार्जिलिङको साउथ फिल्ड कलेजमा सम्पन्न दुई दिवसीय पूर्वी क्षेत्रीय युवा लेखक सम्मेलन विषयमा साउथ फिल्ड कलेजको प्राध्यापक सदीप प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै यो साहित्यिक कार्यक्रम सफल रहेको बताएका छन्। उनले साउथ फिल्ड कलेजमा साहित्य, संगीत र कला विषयहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरेको र यसपाली साहित्य अकादमीसित मिलेर राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रमको आयोजना गरेको र यो सफल भएको पनि बताएका छन्। प्राध्यापक सदीप प्रधानले दुई दिवसीय पूर्वी क्षेत्रीय युवा लेखक सम्मेलनमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।