काठमाडौं: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अमेरिकी प्रशासन नेपाल सरकार तथा नेतृत्वसँग निरन्तर सम्पर्कमा रहेको र विपद् व्यवस्थापनका लागि आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन्।
अमेरिकी समाचार संस्था एनबीसी न्युजका अनुसार, बिहीबार ह्वाइट हाउसमा लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नेपालका लागि सहयोगको घोषणा गरेका हुन्।
ट्रम्पले भने, “हामीले नेपालसँग सम्पर्क गरेका छौँ र उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौँ। नेपालका नेतृत्वसँग हाम्रो राम्रो सम्बन्ध छ।”
बाढीको क्षतिलाई ‘असाधारण’ भने
राष्ट्रपति ट्रम्पले नेपालमा आएको बाढीबाट भएको क्षतिलाई ‘असाधारण’ बताएका छन्। उनले तीव्र पानीको बहाव र लेदोले बलिया तथा पक्की भवनहरूलाई समेत “टुथपिक (दाँत सफा गर्ने सिन्का)” जस्तै बगाएको बताए।
उनले अमेरिकाले नेपालमा राहत सहायता पठाइरहेको र आगामी दिनमा पनि आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
नेपालमा रहेका अमेरिकी नागरिकप्रति चिन्ता
ट्रम्पले बाढी प्रभावित क्षेत्रमा ५० देखि ६० जना अमेरिकी नागरिक प्रभावित भएको हुन सक्ने बताएका छन्। यद्यपि उनीहरूको पूर्ण विवरण अझै उपलब्ध नभएको उनले बताए।
यसैबीच, अमेरिकी समाचार संस्था सीएनएनले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बाढीपछि नेपालमा ९० जना अमेरिकी नागरिक सम्पर्कविहीन भएको जनाएको छ।
पूर्व ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन लेभिटले नेपालमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा अमेरिकी प्रशासनको तत्कालीन प्राथमिकता भएको बताइन्। उनका अनुसार राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोको पहिलो प्राथमिकता नेपालमा फसेका अमेरिकी नागरिकहरूको खोजी गरी उनीहरूलाई सुरक्षित उद्धार गर्नु हो।
अमेरिकाले ५ लाख अमेरिकी डलर आपत्कालीन सहायता दिने
अमेरिकी विदेश मन्त्रालयले क्याथोलिक रिलिफ सर्भिसेजमार्फत ५ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
उक्त सहायता निम्न कार्यमा प्रयोग गरिनेछ:
– बाढी प्रभावितहरूका लागि आपत्कालीन आश्रयको व्यवस्था।
– राहत सामग्री वितरण।
– स्वच्छ खानेपानी, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी सहायता।
राहत तथा खोजी अभियानमा पनि सहयोग
अमेरिकी विदेश मन्त्रालयले रसुवाको बाढीको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ। राहत तथा उद्धार कार्यमा सहयोग गर्न विपद् प्रतिक्रिया विशेषज्ञहरूको टोली नेपाल पठाइएको पनि मन्त्रालयले जनाएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको खोजी तथा उनीहरूलाई आवश्यक सहायता उपलब्ध गराउन काम गरिरहेको छ।
साथै, नेपालमा रहेका अमेरिकी नागरिकहरूलाई स्थानीय प्रशासनका निर्देशन पालना गर्न, स्थानीय समाचारमा ध्यान दिन तथा आपत्कालीन सूचना प्राप्त गर्न स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राम **मा आफ्नो नाम दर्ता गर्न आग्रह गरिएको छ।









