मुख्यमन्त्रीद्वारा शुभकामना र आभार व्यक्त
गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले सरकारी सेवाबाट अवकाश लिनुभएका सचिव श्री मनिस प्रधानलाई शुभकामना व्यक्त गर्दै उहाँको योगदानको सराहना गर्नुभएको छ।
सन् १९९४ बाट सरकारी सेवामा प्रवेश गरी तीन दशकभन्दा बढी समय सिक्किमको विकास र जनसेवामा समर्पित हुनुभएका प्रधानले आफ्नो अवकाशका अवसरमा मुख्यमन्त्रीलाई धन्यवाद तथा कृतज्ञता पत्र पठाउनुभएको थियो। मुख्यमन्त्री गोलेले अवकाशका बेला यसरी व्यक्तिगत आभार पत्र लेख्ने प्रधान पहिलो सचिव भएको उल्लेख गर्दै उक्त पत्रले आफ्नो हृदयमा विशेष स्थान ओगटेको बताउनुभयो।
अवकाश प्राप्त गरे पनि उहाँको अनुभव, ज्ञान र ऊर्जा राज्यका लागि सधैँ उपयोगी रहने विश्वास व्यक्त गर्दै मुख्यमन्त्रीले श्री मनिस प्रधान तथा उहाँको परिवारको सुस्वास्थ्य, सुख र समृद्ध जीवनको कामना गर्नुभएको छ।









