नेपालको भोटेकोशी बाढी: भारतका १३३ नागरिकसहित ४०३ पर्यटक सम्पर्कविहीन

IMG-20260826-WA0110

काठमाडौँ: नेपालको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १३३ भारतीय नागरिकसहित कुल ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार आज बिहान आएको बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन्, जसमा बेपत्ता हुने विदेशी नागरिकमध्ये सबैभन्दा ठूलो सङ्ख्या भारतीय पर्यटकको छ।
​पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार विभिन्न ट्राभल एजेन्सीहरूमार्फत धार्मिक स्थल गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्राका लागि निस्किएका पर्यटकहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेहरूमा २०३ पुरुष र २०० महिला रहेका छन्।
​यस प्राकृतिक विपत्तिमा भारतीय नागरिकका साथै अमेरिकाका ४७, अष्ट्रेलियाका ३४, संयुक्त अधिराज्यका ३३, क्यानडाका २४, मलेसियाका १९, युक्रेनका सात, सिङ्गापुर र दक्षिण अफ्रिकाका छ/छ तथा न्युजिल्याण्ड र जापानका पाँच/पाँच जना नागरिक परेका छन्। यसका अतिरिक्त जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड र नेदरल्याण्ड लगायत २५ भन्दा बढी देशका नागरिकहरूसँग पनि सम्पर्क हुन सकेको छैन।
​बाढीका कारण उत्तरी सीमावर्ती टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका स्थानीय बस्ती, प्रहरीचौकी तथा भन्सार कार्यालयमा व्यापक क्षति पुगेको छ। बाढीले चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढी जोड्ने सडक र पुलहरूसमेत बगाएपछि उक्त क्षेत्रमा आवतजावत ठप्प भएको छ भने उद्धार कार्यमा बाधा पुगेको छ।

About Author

Advertisement