वरिष्ठ गायिका मीरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३

photocollage_2026826125815970

ललितपुर: सरु संगीत घर, टिकाथली, ललितपुरले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार–२०८३ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गर्ने निर्णय गरेको छ।
नेपाली आधुनिक गीत–संगीतको क्षेत्रमा विगत ६ दशकदेखि पुर्याउँदै आएको अतुलनीय योगदानको कदरस्वरूप राणालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ। नेपाली गीत–संगीतको क्षेत्रमा योगदान पुर्याउने महिला कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित पुरस्कारका लागि पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ।
संगीतकार कोमल निरौलाको संयोजकत्वमा गठित स्वतन्त्र छनोट समितिले राणाको नाम पुरस्कारका लागि सर्वसम्मत रूपमा चयन गरेको हो। समितिमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा. रत्नमणि नेपाल र सदस्य–सचिव डेनी निरौला सदस्य रहेका छन्।
राणा सरु संगीत राष्ट्रिय पुरस्कार प्राप्त गर्ने दोस्रो साधक हुन्। यसअघि २०८२ सालमा प्रसिद्ध लोकगायिका कविता आलेलाई पहिलो पटक यो पुरस्कार प्रदान गरिएको थियो। पुरस्कारका लागि स्वदेश तथा विदेशमा रहेर नेपाली गीत–संगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका ४० वर्ष उमेर पूरा गरेका नेपाली महिला योग्य हुने व्यवस्था छ।
यस वर्षको पुरस्कार सितम्बर २६ शनिबार सरु संगीत घरको छैटौँ वार्षिक कार्यक्रममा प्रदान गरिनेछ। महालक्ष्मी नगरपालिका–५, ललितपुरमा रहेको सरु संगीत घरले विगत ६ वर्षदेखि संगीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ। संस्थामा हाल गायन तथा वाद्यवादनलगायत विभिन्न विधामा करिब १०० विद्यार्थीले संगीत शिक्षा लिइरहेका छन्।

About Author

Advertisement