कञ्चनपुर: कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको संख्या पछिल्ला वर्षहरूमा बढ्दै गएको छ। गड्डाचौकीस्थित अध्यागमन कार्यालयका सूचना अधिकारी नवराज भट्टका अनुसार गत आर्थिक वर्षमा १ हजार ७५३ विदेशी पर्यटक उक्त नाकाबाट नेपाल प्रवेश गरेका छन्। सोही अवधिमा १ हजार ५३४ पर्यटक नेपालबाट बाहिरिएका छन्। कार्यालयले १ करोड ५ लाख १८ हजार ११९ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
सुदूरपश्चिममा खप्तड, बडिमालिका, रामारोशन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जजस्ता आकर्षक पर्यटकीय गन्तव्य भए पनि अधिकांश विदेशी पर्यटक काठमाडौँ, पोखरा लगायतका प्रमुख शहरतर्फ जाने गरेका छन्। पूर्वाधार र प्रचार–प्रसारको अभावका कारण उनीहरू सुदूरपश्चिममा लामो समय बस्न नसकेको पर्यटन व्यवसायीको भनाइ छ।
व्यवसायी जगदीशचन्द्र भट्टले गड्डाचौकीमा पर्यटन सूचना डेस्क स्थापना गर्नुपर्ने बताए। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले सडक, आवासलगायत पूर्वाधार विकाससँगै व्यापक प्रचार–प्रसार गरी विदेशी पर्यटकलाई कम्तीमा एक रात सुदूरपश्चिममा बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।










