कोलम्बो: भारतले श्रीलंकाविरुद्ध जारी दोस्रो क्रिकेट टेस्ट म्याचमा आफ्नो वर्चस्व कायम राखेको छ। पसिन्दु सूरियाबन्दारा (८०) र सोनल दिनुशा (अविजित ८५)-को अर्द्धशतकको सहायताले श्रीलंकाले मंगलवार तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ८ विकेटमा २६५ रन बनायो। वर्षाले गर्दा तेस्रो दिनको खेल समयभन्दा अघि नै समाप्त गरियो। श्रीलंका अहिले पनि पहिलो ईनिंग्सको आधारमा २३८ रन पछि रहेको छ। श्रीलंकालाई अहिले पनि फलोअन्-को खतरा टार्न ३९ रनको आवश्यकता छ। तेस्रो दिनको खेल समाप्त हुँदासम्म दिनुषा ८५ र लाहिरु कुमारा ८ रनमा अविजित थिए। दिनुषाले १३७ बल खेलेर ६ वटा चौका र २ वटा छक्का लगाइसकेका छन्। भारतीय बलरहरूमा प्रसिद्ध कृष्णा र मानव सुथारले ३-३ विकेट लिए। दोस्रो दिनको स्कोर २ विकेटमा ८ रनदेखि अघि खेल्दै श्रीलंकाले आज ओपनर कामिल मिशाराको विकेट शुरुमै गुमायो, जसले १९ रन बनाए। यसरी ३५ रनमा ३ विकेटको पतनपछि पसिन्दु सूरियाबन्दाराले कामिण्डु मेण्डिससँग मिलेर चौथो विकेटको निम्ति ८७ रन जोड़े। मेण्डिसले ३२ रन बनाए। उनले ५८ बल खेलेर ३ वटा चौका र एउटा छक्का लगाए। श्रीलंकाले कप्तान धनञ्जय डी सिल्वाको विकेट पनि चाँड़ै गुमायो, जो स्पिनर मानव सुथारको शिकार बने। यसरी १३७ रनमा पाँचौं विकेटको पतनपछि सूरियाबन्दाराले सोनल दिनुशासँग मिलेर टोलीको निम्ति लड़ाइँ जारी राखे। असल लयमा ब्याटिंग गरिरहेका सूरियाबन्दारा अन्तमा गएर जडेजाको शिकार बने। उनले १३३ बलको सामना गरी ९ वटा चौका लगाए। छैटौं विकेटको पतन हुँदा श्रीलंकाको स्कोर १७१ रन रहेको थियो। त्यहाँबाट दिनुषाले दिनको अन्तसम्म संघर्ष गरी श्रीलंकालाई सम्मानजनक स्थितिमा पुऱ्याए। दिनको अन्ततिर श्रीलंकाले निरोशन डिकवेला र केशरा नुवान्थाको विकेट गुमायो। डिकवेलाले खाता पनि खोलेनन् जबकि नुवान्थाले १८ रनको योगदान दिए।










