बिर्तामोड: प्रधानमन्त्री बालेन शाहले संसद बैठकमा कालो चस्मा लगाउनुपर्ने कारण खुलाउँदै चिकित्सकीय रिपोर्टसहितको पत्र संघीय संसद सचिवालयमा बुझाएका छन्। संसद सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणसम्बन्धी रिपोर्टसहित पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सांसदहरूलाई संसद बैठकमा कालो चस्मा नलगाउन निर्देशन दिएका थिए। चिकित्सकीय कारणले आवश्यक परे स्वास्थ्य परीक्षणको रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। कार्यक्रममा ११ सांसदले प्रधानमन्त्रीसँग विभिन्न विषयमा प्रश्न गर्नेछन्। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ अनुसार हुने उक्त कार्यक्रमको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि छुट्याइएको छ। चिकित्सकीय अनुमति पाएपछि प्रधानमन्त्री शाहले कार्यक्रममा कालो चस्मा लगाउनेछन्।











