गाडीधुरामा ८२औं बलिदान दिवस श्रध्दाञ्जली कार्यक्रम सम्पन्न

IMG-20260825-WA0087

अब हामीले नयाँ तरिकाले काम गर्नुपर्छ तर अफरमा भुलेर हुँदैन: सीके श्रेष्ठ

खरसाङ: खरसाङ महकुमा अन्तर्गत गाडीधुरा नवदीप परिवारको आयोजनामा ८२औं बलिदान दिवस श्रध्दाञ्जली कार्यक्रम २०२६ सम्पन्न भएको छ। उक्त कार्यक्रम गाडीधुरा नवदीप परिवारका सभापति गोबिन आचार्यको अध्यक्षतामा र गोर्खे जातिको वरिष्ठ व्यक्तित्व, बुध्दिजीवि समाजसेवी सीके श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। अनिल विश्वकर्म र अनुप रामुदामुले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण गाडीधुरा नवदीप परिवारका महासचिव रोशन विश्वकर्मले राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा फिल्म निर्देशक एंव वरिष्ठ कलाकार तुलसी घिमिरे, संगीतकार चन्दन लम्जेल, वरिष्ठ साहित्यकार एवं साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या डा आशा मुखिया लामा, डा. कमला तामाङ, अनुप गदाल, सभासद कल्पना प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमको पूर्वाध्दमा गाडीधुरामा रहेको शहीद मेजर दुर्गा मल्लको सालिगमा श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम अन्तर्गत उपस्थित अतिथिहरुले शहीद मेजर दुर्गा मल्लको सालिगमा श्रध्दाञ्जली अर्पण गरेका थिए। दोस्रो चरणमा गाडीधुरास्थित सार्वजनिक भवनमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम शहीद मेजर दुर्गा मल्लको जीवनी नवदीप परिवारको उप सभापति अनिल लकान्द्रीले प्रस्तुत गरेका थिए। कार्यक्रममा देश भक्ति गीत शुभेच्छा बराईलीले प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा अवस्था डान्स अकादमीका नानीहरुले नृत्य प्रस्तुत गरेका थिए। त्यसरी कार्यक्रममा तीनधारेका वरिष्ठ गायकद्वय कर्म मोक्तान र महेश सेवाले गीत प्रस्तुत गरेका थिए भने आनन्द बिश्वकर्मले पनि गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाली फिल्म जगतका प्रसिद्ध निर्देशक, वरिष्ठ कलाकार तुलसी घिमिरेलाई भीम लकान्द्री सम्मान पुरस्कार प्रदान गरिएको छ। त्यसरी नै वरिष्ठ व्यक्तित्व सनु गोलेलाई कमल छेत्री स्मृति सम्मान पुरस्कार प्रदान गरिएको छ। यस अवसरमा तुलसी घिमिरे र सनु गोलेले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा उपस्थित अतिथिहरु र सहयोग गर्ने सबैलाई गाडीधुरा नवदीप परिवारको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित विशिष्ट व्यक्तित्व सीके श्रेष्ठले आफ्नो सम्बोधनमा गाडीधुरा नवदीप परिवारलाई स्यावासी दिएका छन्। उनले आफ्नो सम्बोधनमा भने, शहीद मेजर दुर्गा मल्लले देश स्वतन्त्रता अघि नै २५ अगस्त १९४४ सालमा बलिदान दिएक थिए। उनी शहीद हुँदा देश बनिएको नै थिएन।‌जब हामी देशको शहीदको कुरा गर्छौं तब हामी हाम्रो बलिदानको कुरा गर्छौं।’

उनले गोर्खाहरुको संघर्ष विषयमा बोल्दै भने, हाम्रो संघर्ष भूभागकै लागि हो। सबै संघर्ष केवल जित्नको लागि मात्र होइन तर संघर्ष गर्नुको अर्थ हामी जिउँदै छौं भन्नु हो।‌हार जीतको कुरा अर्कै हो।‌ हामीले हाम्रो संघर्षलाई हेर्नुपर्छ, परिणामलाई होइन।‌ संघर्षलाई मर्यादापूर्ण हेर्नुपर्छ। किनभने संघर्ष पनि हाम्रो परिचयको राम्रो पाटो हुनसक्छ जुन दुर्गा मल्लले हामीलाई सिकाएको छ।’
प्रमुख अतिथि सीके श्रेष्ठले अघि भने, ‘हाम्रो इतिहास अरुकोभन्दा भिन्न छ। हामीले हाम्रो यथार्थ र धरातलीय अवस्था बुझ्नुपर्छ। मैले ५० वर्ष भयो गोर्खाल्याण्डको लागि खटेको र काम गरेको। बंगालबाट छुट्टिनुपर्छ भनेर रचना लेख्ने म‌ प्रथम हुँ। बंगाल हाम्रो चिहान हो भनेर भित्ता लेखन शुरु गर्ने पनि म नै हो।’
उनले अझ भने, अब हामीले नयाँ बाटो खोज्नुपर्छ। अध्ययन गर्नुपर्छ। मनन गर्नुपर्छ। हामीले दुर्गा मल्लको सपनालाई साकार पार्न नयाँ तरिकाले केही काम गर्नुपर्छ। तर समाधान भन्दै अफरमा भुलेर हुँदैन। वार्तामा समाधान भयो भनेर हुँदैन।‌ त्यो समाधान होइन तर त्यो त केवल अफर मात्र हो। दागोपाप, जीटीए सबै अफर नै हो। समाधान होइन। आजको समयमा कोही पनि सर्वे सर्वा हुँदैन। पहिलाको जस्तो जमाना छैन।’

उनले अझ भने, गोर्खा जतिले धेरै दुःख पाईसकेको छ‌। अब नयाँ पाराले चिन्तन गर्नु आवश्यक छ। पुरानो बाटो नै हिँडेर हुँदैन। अब सबैजना अघि आएर नयाँ बाटो अन्वेषण गरेर काम गर्नुपर्छ।’
कार्यक्रममा अध्यक्षीय सम्बोधन सभाध्यक्ष गाडीधुरा नवदीप परिवारको सभापति गोबिन आचार्यले राखेका थिए भने धन्यवाद ज्ञापन कोषाध्यक्ष सुवास छेत्रीले राखेका थिए।

About Author

Advertisement