सांसद राजु बिष्टद्वारा डिजिटल क्रान्तिको प्रशंसा
सिलगढी: भारतमा एकीकृत भुक्तानी प्रणाली (युपीआई) सञ्चालनमा आएको १० वर्ष पूरा भएको अवसरमा सांसद राजु बिष्टले यसलाई डिजिटल क्रान्तिको एक दशकका रूपमा चित्रण गर्नुभएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सुरु भएको ‘डिजिटल इन्डिया’ अभियानले भारतको भुक्तानी प्रणालीलाई पूर्ण रूपमा रूपान्तरण गरेको सांसद बिष्टले बताउनुभएको छ। यस प्रविधिले कारोबारलाई तीव्र, सरल, सहज र सर्वसुलभ बनाएको उहाँको भनाइ छ।
साना सडक व्यापारीदेखि ठूला उद्योगी-व्यवसायीसम्मलाई युपीआईले सशक्त बनाएको उल्लेख गर्दै सांसद बिष्टले यसले नागरिकमाझ विश्वास बढाएको र भारतलाई डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढाएको उल्लेख गर्नुभयो। ‘स्क्यान, ट्याप र पे’ को एक दशकले भारतलाई डिजिटल भुक्तानीका क्षेत्रमा विश्वकै लागि एक बेन्चमार्क (उत्कृष्ट नमुना) को रूपमा स्थापित गरेको उहाँले दाबी गर्नुभयो।










