वासिङ्टन: अमेरिकाले इरानसँग जोडिएका करिब ६० संस्था, व्यक्ति र जहाजहरूमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले नयाँ प्रतिबन्धको मुख्य उद्देश्य इरानका लागि आम्दानीका सम्भावित सबै स्रोतहरू रोक्नु रहेको बताएका छन्। उनले तेहरानसँग व्यापार गरिरहेका देशहरूलाई इरानसँगको आर्थिक सम्बन्ध तत्काल अन्त्य गर्न चेतावनी समेत दिएका छन्।
अमेरिकी वित्त मन्त्रालयका अनुसार प्रतिबन्धित संस्थाहरू आणविक, मिसाइल, साइबर र तेल नेटवर्कसँग सम्बन्धित छन्। यसअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, चीन, सिङ्गापुर, स्विट्जरल्यान्ड र युरोपमा रहेका कम्पनीहरूको नेटवर्कलाई लक्षित गरिएको छ। साथै अमेरिकाले डिजिटल सम्पत्ति, प्रविधि, सुन, विमानन र सिपिङ क्षेत्रलाई समेत सम्भावित सेकेन्डरी प्रतिबन्धको दायरामा राखेको छ।
इरानसँगको आर्थिक सम्बन्ध तोड्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले विश्वभरका नेताहरूलाई फोन गरिरहेको अर्थमन्त्री बेसेन्टले जानकारी दिए। ट्रम्पको यस पहलको प्रभाव देखिन थालेको र यूएईले आगामी आदेश नभएसम्मका लागि इरानसँगका सम्पूर्ण व्यापारिक, वाणिज्यिक तथा वित्तीय कारोबार निलम्बन गर्ने घोषणा गरिसकेको छ।
यसैबीच इरानका संसद अध्यक्ष मोहम्मद बागेर गलिबाफले अमेरिकी प्रतिबन्धविरुद्ध कडा जवाफी कारबाही गर्ने चेतावनी दिएका छन्। इरानका व्यापारिक साझेदारहरूले वासिङ्टनको धम्कीलाई वास्ता नगरेको दाबी गर्दै उनले अमेरिका अन्य देशहरूसँगको सम्बन्धलाई अझ सीमित बनाउन सक्ने आर्थिक स्थितिमा नरहेको बताएका छन्।










