२३ अक्टोबरः रिषिहाट टी स्टेट, दार्जीलिङको जीवन ज्योति परिवारको तत्त्वावधानमा आयोजित ओपन गर्ल्स नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार पहिलो राउण्डको दुईवटा म्याच खेलियो। पहिलो म्याचमा मेरीबोंग वेलफेयर सोसाइटीले युनाइटेड जंगापानालाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट जोयु लिम्बुले गोल गरिन्। यसरी नै दोस्रो म्याचमा बीजीजीयू जोरबंग्लोले पाण्डाम युनाइटेडलाई ७-१-ले पिट्यो। विजेता टीमबाट सुजु चामलिंग एक्लैले ४ गोल गरिन्। यसबाहेक प्रियंका खवासले पनि ह्याट्रिक गरिन्।

पाण्डाम युनाइटेडबाट सेजल लिम्बुले १ गोल गरिन्। यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको अघिल्लो म्याच शनिवार खेलिने आयोजक समितिको तर्फबाट सिद्धान्त तामाङले बताएका छन्।