पारदर्शिता र जवाफदेहिताको सवाल
काठमाण्डोंँ: प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई लिएर श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रतिनिधिसभामा प्रश्न उठाएका छन्। सोमबारको संसद् बैठकमा उनले प्रधानमन्त्रीजस्तो जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिको भ्रमणबारे मन्त्रिपरिषद् र संसद्लाई जानकारी गराइएको थियो कि थिएन भन्ने स्पष्ट पार्न माग गरे। प्रधानमन्त्रीको निजी जीवन भए पनि सार्वजनिक पदमा पुगेपछि उनका गतिविधि राज्य र जनताको सरोकारसँग जोडिने उनको तर्क थियो। उनले भ्रमणको उद्देश्यबारे सदनलाई जानकारी दिनुपर्ने बताउँदै ‘प्रधानमन्त्री मुस्ताङ किन जानुभयो? के खान जानुभयो?’ भन्दै व्यंग्यसमेत गरे।
समसामयिक राजनीतिमा यो प्रश्न केवल एउटा भ्रमणको विषयमा सीमित छैन। यसले सार्वजनिक पदाधिकारीको व्यक्तिगत स्वतन्त्रता र सार्वजनिक जवाफदेहिताबीचको सीमाबारे बहस सिर्जना गरेको छ। प्रधानमन्त्रीका निजी तथा सरकारी भ्रमणबीच स्पष्टता, राज्य संयन्त्रमा सूचना प्रवाह र सार्वजनिक पारदर्शिता लोकतान्त्रिक शासनका महत्वपूर्ण आधार हुन्। त्यसैले भ्रमणको उद्देश्य र प्रकृतिबारे सरकारको स्पष्ट जवाफले नागरिकमा विश्वास बढाउन तथा शासनप्रतिको उत्तरदायित्व बलियो बनाउन सक्छ।










