निबन्ध: रमाइलो तिहार र नेपाली संस्कृतिको एक झलक

00-IMG-20221022-WA0154-1

     

✍बिकाश दुलाल, काउडीपथार, विश्वनाथ,असम 

नेपाली संस्कृतिको एक अभिन्न र रमाइलो क्षण शरद याममा बडा दसैं पछि नै मनाइने परम्परागत मान्यता, इतिहासको पानामा निरपेक्ष पर्व तथा समस्त हिन्दु धर्मको प्रतिनिधि, जातिको गरिमा तथा जातिको परिचायक पर्व, हाम्रो संस्कृतिका निम्ति वरदान स्वरूप, दाजु-भाइ तथा दिदी-बहिनी, मानव र मानवेतर प्राणीबिचको समन्वयको सेतु, जसले पशु-पक्षी, दिदिबहिनी, दाजुभाइ, इष्ट-मित्र, घर-गाउँले तथा साथीभाइहरूबिच एकता, आनन्द, जागरुकता तथा भातृत्ववोध स्थापन गराउँदै आएको छ, जुन पर्वले गर्दा आज हाम्रो सांस्कृतिक आकाश संसारमा देदीप्यमान छ तथा हामी विश्व दरबारमा एक सु-सभ्य सांस्कृतिक जातिको उपनामले परिचित छौं त्यही चाडको कुरा हो। हो, तपाईं ठिकै सोच्नु हुँदैछ म तिहारकै बारेमा भन्दैछु।

प्रत्येक वर्ष शरद याममा तिहार पर्व मनाइन्छ। शरद यामको मौसममा न जाडो हुन्छ न गर्मी। चारैतिर धान पाकेकोले सुनौलो वातावरण छाएको, वृक्षहरू हरेक तरहका फलले लटरम्म भएका, आँगन पनि सयपत्री, मखमली, आदि फुलहरूले सुगन्धमय एवं सुशोभित भएको, काम विशेषले घरदेखि टाढा जाने दाजुभाइहरूको पनि यो समयमा आआफ्ना घरमा आगमन हुने, कृषकहरूले पनि कृषिकर्मबाट अलिक दिनलाई छुटकारा पाउने साथै व्यवसायी व्यक्ति र जागिरेहरूले पनि छुट्टी पाउने तथा विद्यार्थीहरूले पनि पूजा विदा पाउने यस्तो एक आनन्दमय परिवेशमा पालन गरिएको हुनाले तिहारलाई रमाइलो तिहार पनि भनिन्छ। भारतका अरू-अरू जातिहरूमा यसलाई दिपावली, कालिपूजा, दिपान्विता, त्योहार भन्ने चलन छ।

तिहारको उत्पति र ऐतिहासिक पृष्ठभूमिबारे जनश्रुति प्रचलित छ कि त्रेता युगमा रघुकुल शिरोमणि मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रले लङ्कानरेश दशानन रावण बध गरेर सीतालाई उद्धार तथा चौध वर्षको वनवासलाई सिध्याएर स्व-राज्य अयोध्या फर्किनु भएको बेला समग्र अयोध्यावासीले राज्यमा अति हर्षोल्लाषका साथ रघुकुल शिरोमणि भगवान श्रीरामचन्द्रको आदर सत्कार गर्दै विजयोत्सव मनाएका थिए। असत्य माथि सत्यको विजय भएपश्चातका दिनहरूलाई कालक्रममा तिहारको रूपमा मनाइँदै आइएको हो। यसरी तिहारले दिग्वीजयी धार्मिक साक्षी बोकेको छ।

तिहार कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथि देखिन श्रीगणेश भएर शुक्लपक्षको द्वितीया तिथिसम्म चल्दछ। यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भन्दछन्। यमपञ्चकका पाँच दिनहरू क्रमशः यसप्रकारका छन् – काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहार।

यमपञ्चकको थालनी हुन्छ कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिबाट जुन तिथिलाई हामी कागतिहारका रूपमा जान्दछौं। लोकरिती प्रचलित छ कि यमपञ्चक  लागेपछि सूर्यपुत्र एवं मृत्युका देवता यमराज यमलोकबाट बहिनी यमुनाको घर भाइ टिका लाउन मर्त्यलोकमा आएर यमपञ्चकभरि बस्ने गर्छन्। त्यसैले पृथ्वीलोकमा आफ्नो आगमनको सन्देश दिनका निम्ति यमराजले आफ्ना दूत कागलाई पठाउने गर्दछन् भन्ने लोकविश्वास रहँदैआएको छ।परिवेशको उपकारी पंक्षी, यमराजका दुत एवं यमराजका दाजु न्यायका अधिष्ठाता शनिदेवको वाहनको रूपमा कागलाई यस दिन माछा, मासु र अन्य मनपर्ने सबै परिकारका मिठा खानेकुरा दिएर पूजा गरिन्छ। यसरी कागलाई गरिएको आदर सत्कारलाई काकबलि भन्दछन्। यसदिन कागलाई सन्तुष्ट पारेमा अकाल मृत्युबाट परित्राण पाइन्छ भन्ने जनविश्वास छ।

भोलिपल्ट कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथि जसलाई हामी कुकुर तिहारको रूपमा जान्दछौं। कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ। जनरीति प्रचलित छ कि द्वापर युगको अन्त्यमा पञ्चपाण्डवहरू स्वर्गारोहण गरेका बखतमा द्रौपदी र अरू चार भाइको बाटैमा देहावसान हुनाले धर्मराज युधिष्ठिरलाई यमलोकमा यमराजको द्वारपालका रूपमा रहने कुकुरले नर्क जानबाट जोगाएर स्वर्गसम्म पुर्‍याएको थियो। त्यसैले यस दिन कुकुरलाई विधिवत् पूजा गरी क्यात्तुके फुलको माला लगाएर मासुभात र स्वादिष्ट खानेकुरा खुवाएर आदर सत्कार गर्दै मृत्युपश्चात हामीलाई पनि स्वर्गको ढोकासम्म पुर्‍याइदिने आग्रह गरिन्छ। व्यवहारमा हाम्रो आज्ञापालक, सहयोगी, गृहरक्षकका साथै परिवेश उपकारी बफादार प्राणीको रूपमा रहेको कुकुरको महानतालाई र धार्मिक प्रासङ्गिकतालाई  स्विकार्दै गरिएको कुकुरको यसप्रकारको आदर-सत्कारलाई श्वानबेनी भनिन्छ।

रमाइलो तिहारको तेस्रो दिन अर्थात कार्तिक कृष्णपक्ष औँसीको दिनको नेपाली संस्कृतिमा एक छुट्टै महत्व छ। लक्ष्मी पुजा, गाईतिहारे औँसी, दिपान्वीता आदि विभिन्न नाउँमा मनाइने यो तिहारले पनि धार्मिक पृष्ठभूमि वहन गरेको छ। सनातन धर्मको पवित्र ग्रन्थ वेदको वर्णनअनुसार  चौसट्ठी कलाले विभूषित एवं शुभ लक्षणयुक्त माता लक्ष्मी भगवती नौ दुर्गे भवानीको अनेकन रूपमध्ये एक भएको र तिनै लक्ष्मी माताको उपासना गरे ऐश्वर्य र विभुति सम्पन्न हुने धार्मिक मान्यता रहेकोले कार्तिक कृष्णपक्ष औँसीको दिन धनलक्ष्मी माताको पूजा गरिएको हो। लक्ष्मीपूजाको दिन झिसमिसेमा उठी स्नानादि गरी पवित्र भई भकारी, घर-आँगन, टोल-समाज सबै सर-सफाइ गरी नानाथरीका सुगन्धित पुष्प, दीयो, बत्ती र आधुनिक बजारमा सर्वत्र उपलब्ध रङ्गीचङ्गी बिजुली बत्तीले मनोहर तरिकाले सुशोभित पारेर सजाइन्छ। यसदिना विधिवत् रूपले लक्ष्मीपूजा गरेमा त्यस घरमा सधैँ लक्ष्मीमाताको बास  हुने र आजीवन ऐश्वर्य, विभुति, भाग्य र शान्तिको वृष्टि हुने धार्मिक लोकविश्वास रहेकाले बडो धुमधामका साथ लक्ष्मीपूजा मनाइएको देख्न पाइन्छ। परम्पराअनुसार यसदिन स्व-गृहमा लक्ष्मीमाताले प्रवेश गरून् भनेर आँगन वा चोकदेखि ढुकुटी र भँडारसम्म लिपी बाटो बनाएर यसमा लक्ष्मीमाताको पाइला अङ्कित गरिन्छ र यसलाई फलफूलले यथायोग्य सजाएर साँझ परेपछि यसैमाथि ढकमक्क दीयो, बत्ती बालेर लक्ष्मीमातालाई भित्र्याइने चलन युगसुहाउँदिलो तरिकाले चल्दैआएको छ। यसो गरे घरमा सधैँ लक्ष्मीमाताको बास हुने र घरपरिवारलाई अपार खुसी दिँदै धनले परिपूर्ण गराइदिन्छिन् भन्ने लोकविश्वास रहेको छ।

लक्ष्मीमाताको रूप मान्दै कार्तिक कृष्णपक्ष औँसीकै दिन गाईको पनि विधिवत् पूजाआजा गरिन्छ। त्यसैले लक्ष्मीपूजालाई गाईतिहारे औँसी पनि भन्ने गरिन्छ। गौमाताको पूजा गर्ने क्रममा पहिले पानीले आचमन गर्दै गाईको परिक्रमा गरेर खुर र सिङ्गमा तेल लगाइदिन्छन्, रङ्गीन बुट्टेदार टीका लगाइदिँदै चोखो खाद्य पदार्थ खान दिन्छन् र गाईलाई नयाँ पगाहाले बाँधिदिन्छ्न्। यसैदिन परेको नेपाली साहित्यका धरोहर महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीले गर्दा लक्ष्मीपूजाको रौनकतामा सुनमा सुगन्ध थपिदिएझैं हुन्छ भने साहित्य र संस्कृतिको  झलक पनि यसदिन देख्न पाइन्छ।

गाईतिहारे औंसी अर्थात् लक्ष्मीपूजाको राति घर-गाउँ, तराई-शहर आलोकमय हुन्छ। मैन बत्ती, दियो, बत्ती र थरीथरीका फुलमाला, बिजुली बत्ती, सुगन्धित धुप-दीप एवं नैवेद्यले घर-आँगन अलकापुरी जस्तै सुनौलो एवं देदीप्यमान हुन्छ। यसदिन किनेका सरसामानहरूमा लक्ष्मीमाताको बास हुन्छ भन्ने विश्वास भएकोले यसदिन गर-गहना, लुगा-फाटो, भाँडा-कुँडा, किनेर भित्र्याउने चलन छ। घरगृहस्थीद्वारा साँझमा विधिवत् तरिकाले लक्ष्मीपूजन गरिसकेपछि आबाल वृद्ध, वनिताहरूको बिच भैलिनी खेल्ने चलन परम्परागत रूपले अक्षुण्ण रहँदै आएको छ। भैलिनी खेल्दा लक्ष्मीको गाथा र मङ्गल वचन, सुर-असुरको वीरत्व भट्याउँदै भैलिनीहरूले भैलिनीको थालनी यस प्रकारले गर्छन् —

 ‘‘भैलिनी आयौं आँगन बढारी कुँढारी राखन

औँसीबारो गाई तिहार हो भैली।

हरियो गोबरले लिपेउकी

बाछी दाम्लो पुज्यौकी

औंसीबारो गाई तिहार हो भैलीl’’ 

यमपञ्चकको चौथो दिन हो शुक्ल पक्षको प्रतिपदा तिथि जसलाई हामी हलि तिहारको रूपमा जान्दछौँ। हलि तिहारको दिन देवादिदेव महादेवको वाहन र कृषकहरूको तथा कृषिकर्मको उपकारी प्राणीको रूपमा गोरुलाई लक्ष्मी पूजेझैँ  विधिवत् रूपले पूजन गरिन्छ। यसदिन गोबरको पार्थिव गोवर्धन पर्वत स्थापना गरेर विधिवत् रूपमा गोवर्धन पूजा गर्ने चलन परम्परागत रूपमा चलिआएको छ। यसदिन दानबीर बलिको वीरत्व र दानशीलतालाई दर्शाउँदै गाउँघरमा आबाल वृद्धहरूको समुहमा देउसी खेल्ने परम्परागत र गौरवशाली चलन चलिआएको छ। देउसी खेल्दा भट्याइने केही पङ्क्तिहरू यसप्रकारका छन्–

‘‘झिलिमिली झिलिमिली —-देउसुरे राम।

के को झिलिमिली —- देउसुरे राम।

फूलको झिलिमिली — देउसुरे राम।

आहै के फूल — देउसुरे राम।

मखमली फूल — देउसुरे राम।

ए सयपत्री — देउसुरे रामl’’

देउसी झ्याउरे र भैली नेपाली संस्कृतिका परिचायक हुन्। देउसी र भैली एकता र वीरत्वका प्रतीक हुन भने यसले तिहारको गरिमालाई अझ दर्बिलो बनाउनुमा सहयोग पुर्‍याउनुका साथै जातिको संस्कृतिलाई विश्व दरबारमा गरिमामय पार्नमा सघाउ पुर्‍याएको छ। काग तिहार, कुकुर तिहार, गाई तिहार, र गोरु तिहार पछि नै यमपञ्चकको अन्तिम तिथि हो कार्तिक महिनाको शुक्ल पक्षको द्वितीया तिथि, जसलाई हामी भाइटिका, भातृद्वितीया,भाइफुटा र भाइदुजको रूपमा जान्दछौँ। यसदिन दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने एक युगक्षम परम्परा छ। किंवदन्तीअनुसार  यमपञ्चकको यसदिन अर्थात्  कार्तिक महिनाको शुक्ल पक्षको द्वितीया तिथिको दिन सूर्यपुत्र एवं मृत्युका देवता यमराज यमलोकबाट बहिनी यमुनाको घर भाइटीका लाउन मर्त्यलोकमा आउने गर्छन्। भाइटिकाको दिन हर एक दाजु-भाइ टिका थाप्न दिदी-बहिनीका घर जान्छन्। दिदिबहिनी पनि अति हर्ष र उमङ्गका साथ बिहानै नुहाएर यमराज, हनुमान, विभीषण, परशुराम आदि अष्ट चिरञ्जीवीको पूजा गर्छन् र निराहार रहेर हरेक तरहका स्वादिष्ट परिकार, टीका लगाएर दिने उपहार र मखमली फुलको माला बुनेर तैयार पारी दाजु-भाइको आगमनको प्रतीक्षामा बाटो कुरिरहन्छ्न्। दाजु-भाइहरू पुगेपछि एकवर्ष  देखिनको पर्खाइलाई अन्त्य गर्दै  दाजु-भाइ र दिदी-बहिनी बिचको अपार माया र साइनोलाई झल्काउँदै टीका लाउने प्रक्रियाको शुभारम्भ हुन्छ। 

टीका लगाउने क्रममा दिदीबहिनीले सबैभन्दा पहिले दियो, कलश तथा श्रीगणेशको पूजा गरी बिमिराको पूजा गर्छन्। त्यसपछि दाजु-भाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्दै पानी तथा तेलले सात घेरा हाली दाजुभाइलाई छेक्छन्। फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिन्छन्। त्यसपछि दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा उर्द्ध्वाकार रेखामा सिधा पार्दै पहेँलो, निलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो सतरङ्गी टीकाका साथै गलामा मखमली, सयपत्री तथा दुबो आदिले बनेको सुन्दर र रङ्गीन माला पहिराइदिन्छन। सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति वर्षिन्छ भने दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ। भाइटिकामा दिदीबहिनीहरूले दाजुभाइहरूलाई  पहिराइदिने मालामार्फत मखमलीझैँ नओइलाउने, सयपत्रीकाझैँ रङ्ग कहिल्यै उडेर नजाने, दुबो जस्तै सधैँ हरियै रहने शुभाशिष दिन्छन्। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी पनि लगाइदिन्छन् जसले दाजुभाइहरूको आयु बढाउनुका साथै जातीयता झल्काउँछ। टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ। दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले नेपालमा भएको रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् भने कसै कसैले अर्कैलाई दाजुभाइ बनाएर टीका लगाउने गरिएको चलन पनि कहीँ कतै देख्न पाइन्छ।

तिहारको शैक्षिक पक्षहरू पनि अति सबल, प्रामाणिक एवं प्रभावकारी छन्। कागतिहारले अशुद्ध भावनालाई हटाएर मन स्वच्छ र परिष्कृत पार्ने तथा सधैँ सुकार्यमा अग्रसर   हुने शिक्षा दिएको छ भने कुकुर तिहारले इमान्दारीतापूर्वक निष्ठावान बन्दै नि:स्वार्थ रूपमा सामाजिक कर्ममा अग्रसर हुने तथा सधैँ चनाखो बनिरहने शिक्षा प्रदान गरिरहेको छ। ठिक त्यसैगरी, गाई तिहार र गोरु  तिहारले धनको सुप्रयोग गर्ने, परिश्रमी र उपकारी बन्ने शिक्षा दिएको छ भने भाईटिका अर्थात् भाइतिहारले दाजुभाइ र दिदीबहिनी बिचको अपार माया र साइनोलाई झल्काउँदै दाजुभाइ र दिदीबहिनी बिच एकता, भातृ-भग्नी प्रेम र मिलनको सुवर्ण सेतु निर्माण गर्ने तथा नारी सम्मानको आदिपाठको ज्ञान दिएको छ। 

तर यस क्षेत्रमा असमका सु-प्रसिद्ध साहित्यकार दुर्गाप्रसाद घिमिरेको भनाइलाई मनन गर्नुपर्ने स्थिति आजको परिप्रेक्ष्यमा देखिएको छ। उहाँ  भन्नुहुन्छ, ‘कुनैपनि चाड पर्व हर्षको चिज हुनुपर्छ, विषादको बिज हुनुहुँदैनl’ हो उहाँले ठिकै भन्नभएको छ। किनभने आजको यस महँगाईको जमानामा एउटै महिनामा दसैँपछि लगत्तै तिहार परेको हुनाले अर्थभावले दुखी निसास्सिनु स्वाभाविक हो। तसर्थ, दसैँ, तिहारलगायत हाम्रा समस्त चाड पर्वहरू समयसापेक्ष, विज्ञानसम्मत र कम्ती खर्चिलो हुनु अत्यावश्यक र उचित ठहरिन्छ। पू्र्खौँदेखि चल्दैआएको तिहार हाम्रो संस्कृतिको एक महान पर्व हो। सांस्कृतिक बिम्ब हो। विश्वभरी छरपस्ट भएर बस्ने नेपाली/गोर्खाली जातिको जातीय एकताको परिचायक हो। हामी वीर, पराक्रमी, प्रबल, प्रतापी नेपाली/गोर्खाली जातिको जातीय अस्मिता हो। यसरी परम्परागत रूपमा मान्दै र मनाउँदै आएको रमाइलो तिहारले अपसंस्कृतिलाई  र विकृतिलाई पन्छाउँदै संस्कृतिलाई अझ विकसित, संस्कारित, युगसुहाउँदिलो र परिमार्जित बनाउनुमा सघाउ पुर्‍याओस्। हामीबिचको एकता, भाइचारा, समन्वय, माया र ममतालाई अझ दर्बिलो बनाओस्। सबैको जीवनमा खुशीका नौला किरण छरिदियोस् भन्ने कामना गर्दै मेरा सबै शुभेच्छुक, मित्रगण, आत्मीयजनलगायत हिमालय दर्पण दैनिकीका सपरिवारलाई रमाइलो तिहारको हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दै प्रस्तुत निबन्धको निष्कर्ष दिदैँछु।                           ००००

 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement