दार्जिलिङ: दार्जिलिङको साउथफिल्ड कलेजमा साहित्य अकादमी र साउथ फिल्ड कलेजको संयुक्त आयोजनामा दुई दिवसीय पूर्वी क्षेत्रीय युवा सम्मेलन शुरु भएको छ। आज २२ अक्टोबर र भोलि आयोजना गरिने विभिन्न भाषाका युवाहरूलाई लिएर गरिएको उक्त कार्यक्रम अन्तर्गत आज तीनवटा सत्रमा कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा भारतको पूर्वोत्तर क्षेत्रका विभिन्न भाषाका युवाहरूले आफ्नो आफ्नो भाषामा साथै हिन्दी र अंग्रेजीमा अनुवाद पनि सुनाएका थिए। यसै कार्यक्रममा डिजिटल प्लेटफर्ममा साहित्य विषयमा संगोष्ठीको पनि आयोजना गरिएको थियो। साहित्य अकादमी तथा साउथ फिल्ड कलेज दार्दिलिङको आयोजनामा आजादीको अमृत महोत्सव अन्तर्गत पूर्वी क्षेत्रीय युवा लेखक सम्मेलन गरिएको छ। यस अन्तर्गत कार्यक्रममा साहित्य अकादमीको सचिव के श्रीनिवासरावले स्वागत सम्भाषण राखेका थिए भने आरम्भिक वक्तव्य साहित्य अकादमी पूर्वी क्षेत्रीय मण्डलको संयोजक अशोक अविचलले राखेका थिए। त्यसरी नै कार्यक्रममा बीज भाषण साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको संयोजक डा जीवन नामदुङले राखेका थिए। यस सत्रको कार्यक्रमलाई साउथफिल्ड कलेज दार्जिलिङकी प्राचार्य अनुराधा राईले अध्यक्षीय सम्भाषण राखेका थिए। यस सत्रको कार्यक्रममा धन्यवाद ज्ञापन साहित्य अकादमीको क्षेत्रीय सचिव देबेन्द्रकुमार देवेसले गरेका थिए। उक्त कार्यक्रमको पहिलो सत्रमा डिजिटल प्लेटफर्ममा साहित्य विषयमा संगोष्ठी सम्पन्न गरिएको थियो जसलाई सीआर राईले अध्यक्षता गरेका थिए। यस सत्रमा सिध्दार्थ भांकर बेजबरूआ, अम्लान कुसुम चक्रवर्ती, रोजी चामलिङ, अनिल माझी आदिले डिजिटल प्लेटफर्ममा साहित्य विषयमा आलेख पाठ गरेका थिए। त्यसरी नै दोस्रो सत्रमा बहुभाषी कविता पाठ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई महेश प्रधानले अध्यक्षता गरेका थिए भने विभिन्न भाषाका कविहरूले आफ्नो आफ्नो भाषामा कविताहरू पठन गरेका थिए। कार्यक्रममा असमिया भाषाबाट कौशिक बायस्वास, बंगालबाट प्राणेश भट्टाचार्य, बोडोबाट अञ्जना देवी उपाध्याय, मैथिलीबाट अनुराग मिश्र र हिन्दीबाट घुंघरू परमानले आफ्नो आफ्नो भाषा र हिन्दी अनि अंग्रेजीमा अनुवाद गरिएको कविताहरू पनि वाचन गरेका थिए। यो कार्यक्रम भोलि २३ अक्टोबरको दिन पनि आयोजना भईरहेको छ। यस विषयमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको संयोजक डा. जीवन नामदुङ अनि साहित्य अकादमी पूर्वोत्तर क्षेत्रका सचिव डा. देवेन्द्र देवेसले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन्।









