गान्तोक: सिक्किम सरकारको वन तथा वातावरण विभाग अन्तर्गतको पर्यावरण सूचना, जागरूकता, क्षमता अभिवृद्धि र जीविकोपार्जन कार्यक्रम (ईआईएसीपी) हबको आयोजनामा २० जना युवाहरूका लागि ‘सोलर इन्टरप्राइज असिस्टेन्ट म्यानेजर’ सम्बन्धी ६८ दिने ग्रिन स्किल डेभलपमेन्ट (हरित कौशल) तालिम सुरु भएको छ। देवरालीस्थित वन सभाहलमा आज आयोजित एक विशेष समारोहका बिच
राष्ट्रीय व्यावसायिक शिक्षा एवं प्रशिक्षण परिषद(एनसीभीईटी) स्वीकृत यो प्रमाणपत्र पाठ्यक्रमको औपचारिक उद्घाटन गरियो।
अक्टोबर २०२६ को अन्त्यसम्म चल्ने दुई महिनाभन्दा बढीको यो तालिम मुख्य गरी गान्तोक जिल्लाका विभिन्न स्थानहरूमा सञ्चालन गरिनेछ। तालिममा रिन्यूएबल एनर्जी एप्लिकेशंस एंड कंसल्टेशन इन हिमालयाज, सिक्किम, एसआरईडीए((सिक्किम रिन्यूएबल एनर्जी डेवलपमेंट एजेंसी), सिक्किम मणिपाल इंस्टीट्यूट ऑफ टेक्नोलॉजी
(एसएमआईटी), एनआईईएलआईटी(राष्ट्रीय इलेक्ट्रॉनिक्स एवं सूचना प्रौद्योगिकी संस्थान) तथा अन्य जीएसडीपी(सकल राज्य घरेलू उत्पाद) का मास्टर ट्रेनरहरूले प्रशिक्षार्थीहरूलाई सहजीकरण गर्नेछन्। यस कार्यक्रममा घरायसी तथा औद्योगिक प्रयोगका लागि अन-ग्रिड, अफ-ग्रिड र हाइब्रिड सोलार पीभी प्रणालीको डिजाइन, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भार जस्ता विषयहरू व्यावहारिक रूपमा सिकाइनेछ। कुल ६८ दिनको यस पाठ्यक्रममा १२० घण्टाको सैद्धान्तिक, १८० घण्टाको व्यावहारिक, ६० घण्टाको रोजगारी कौशल र १५० घण्टाको कार्यस्थल तालिम (अन-द-जब ट्रेनिङ) समावेश गरिएको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वन संरक्षण प्रमुख (पर्यावरण तथा मृदा संरक्षण) सुरज के. थाताल IFS ले सहभागी युवाहरूलाई हरित कौशलको माध्यमबाट सिर्जना हुने जीविकोपार्जनका अवसरहरूको पूर्ण लाभ उठाउन आग्रह गरे। साथै उनले सिक्किमलाई भारतकै ‘हरित राज्य’को रूपमा पहिचान दिलाउने अभियानमा जोड दिन प्रोत्साहन समेत गरे।
थातालका अनुसार सन् २०१९-२० देखि भारत सरकारको पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयको सहयोगमा सिक्किममा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। प्रधानमन्त्रीको ‘स्किल इन्डिया मिसन’ र सिक्किमका मुख्यमन्त्रीको ‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’को सोचलाई साकार पार्न यस तालिमले सहयोग पुर्याउने उनले बताए। विभागले सन् २०१९ यता पर्यावरणका क्षेत्रमा ५६५ जना स्थानीय युवाहरूलाई यस्ता विभिन्न तालिममा आबद्ध गराइसकेको छ।
उद्घाटन सत्रमा ईआईएसीपीका अतिरिक्त निर्देशक कुसुम गुरुङ, सिक्किम ईआईएसीपी का अधिकारीहरू र रिच सिक्किमका विषय विशेषज्ञहरूको उपस्थिति थियो। सो अवसरमा अघिल्ला ब्याचका सफल प्रशिक्षार्थीहरूको अनुभव समेटिएको भिडियो प्रदर्शन गरिनुका साथै सहभागीहरूलाई तालिम किट र औजार वितरण गरी अभिमुखीकरण (ओरिएन्टेसन) सत्र सञ्चालन गरिएको थियो।










