गान्ताेक: सिक्किमको राजधानी गान्ताेकस्थित पालजोर स्टेडियममा ८०औँ स्वतन्त्रता दिवस भव्य समारोहका बीच सम्पन्न भएको छ।
समारोहलाई सम्बोधन गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले सरकारले जनताको आवश्यकता र आकांक्षालाई शासनको केन्द्रमा राखी काम गरिरहेको बताए। उनले ‘सुनौलो, समृद्ध र समर्थ सिक्किम’ निर्माणका लागि सरकार निरन्तर प्रतिबद्ध रहेको दोहोर्याए। जनताको विश्वास र अटुट समर्थन नै सरकारको मुख्य शक्ति र प्रेरणाको स्रोत भएको उनको भनाइ थियो।

सो अवसरमा सिक्किमको विकास, सुरक्षा तथा समाजसेवामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको छ। समारोहमा वीरता पुरस्कार, पुलिस पदक, श्रवण कुमार पुरस्कार र राज्य मेधावी सेवा पुरस्कार प्रदान गरियो।
यस्तै, सन् २०२५-२६ को कक्षा १० र १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई ‘राज्य मेधावी पुरस्कार’, उत्कृष्ट सहकारी संस्थाहरूलाई ‘मुख्यमन्त्री उत्कृष्ट सहकारी पुरस्कार’ तथा खेलाडीहरूलाई ‘राज्य खेलकुद पुरस्कार’ द्वारा सम्मानित गरिएको छ।

समारोहको मुख्य आकर्षणका रूपमा विभिन्न टोलीहरूद्वारा प्रस्तुत गरिएको भव्य परेड रहेको थियो। अनुशासित र आकर्षक मार्चपास्ट प्रस्तुत गर्ने सबै सहभागीहरूलाई मुख्यमन्त्रीले धन्यवाद ज्ञापन गर्दै बधाई दिएका छन्।









