सांसद राजु विस्टद्वारा ‘स्थायी राजनीतिक समाधान’ र विकासको प्रतिबद्धता व्यक्त
कालिम्पोङ: दार्जिलिङ, तराई र डुवर्सका बासिन्दाहरूसँगै कालिम्पोङको मेला ग्राउन्डमा आयोजित ८०औँ स्वतन्त्रता दिवस समारोहमा सांसद राजु विस्ट सहभागी भएका छन्।
कालिम्पोङमा देशभक्तिपूर्ण परम्परा र उत्साहका साथ स्वतन्त्रता दिवस मनाउने प्रचलन रहेको उल्लेख गर्दै सांसद विस्टले यहाँका जनतालाई बधाई ज्ञापन गरे।
समारोहलाई सम्बोधन गर्दै उनले पहाड, तराई र डुवर्स साझा इतिहास, भूगोल, संस्कृति र आकाङ्क्षाले जोडिएको बताए। फुटको राजनीतिलाई अस्वीकार गर्दै सबै मिलेर एकै परिवारका रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए।
सम्बोधनका क्रममा विस्टले संवैधानिक, लोकतान्त्रिक र शान्तिपूर्ण माध्यमबाट यस क्षेत्रको स्थायी राजनीतिक समाधानका लागि आफ्नो प्रतिबद्धता दोहोर्याए। राजनीतिक आकाङ्क्षासँगै विकास निर्माणका कामहरू पनि सँगसँगै अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले सडक, पुल, डिजिटल कनेक्टिभिटी, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी जस्ता पूर्वाधारहरूमा सुधार गर्दै विकासको खाडल पुर्ने र युवाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।










