सिलगढी प्रधान हुलाक कार्यालय पुगे मन्त्री डा. शङ्कर घोष
सिलगढी: आधार ई-केवाईसी अद्यावधिक (अपडेट) गर्नका लागि रातभर लाइनमा बस्नुपर्ने सर्वसाधारणको सास्तीबारे समाचार सार्वजनिक भएपछि पश्चिम बंगालका पर्यटन मन्त्री तथा सिलगढीका विधायक डा. शङ्कर घोषले शुक्रबार सिलगढी प्रधान हुलाक कार्यालयको निरीक्षण गरेका छन्।
आधार सेवासँग सम्बन्धित कामका लागि सर्वसाधारणले ठूलो सास्ती भोग्दै आएका थिए। आफ्नो पालो पर्खिन धेरै नागरिक सडकमै रात बिताउन बाध्य भएका समाचार सञ्चारमाध्यममा आएका थिए। समाचार सार्वजनिक भएलगत्तै मन्त्री घोष स्वयं हुलाक कार्यालय पुगेर सर्वसाधारणलाई घण्टौँ लाइनमा बस्न र रातभर कुर्न नपर्ने वातावरण बनाउन अधिकारीहरूसँग छलफल गरेका हुन्।
हुलाक कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री डा. घोषले भने, “नागरिकहरू रातभर लाइनमा बस्न बाध्य भएको खबर मैले मिडियामार्फत थाहा पाएँ। यो समस्या पहिले मेरो जानकारीमा आएको थिएन, तर थाहा पाउनेबित्तिकै म आफैँ समाधानको पहल गर्न यहाँ आएको हुँ।”
पर्यटन मन्त्री डा. घोषले यस समस्याको स्थायी समाधानका लागि प्रशासनसँग छलफल भइसकेको बताए। उनले यसबारे जिल्ला अधिकारीसँग कुराकानी भइसकेको र अन्य बैंक अधिकारीहरूसँग पनि छलफल गरी प्रक्रियालाई सहज र व्यवस्थित बनाइने आश्वासन दिए।









