देहरादून: उत्तराखण्डको चमोली जिल्लास्थित मायापुर-पीपलकोटी क्षेत्रमा टीएचडीसीको निर्माणाधीन जलविद्युत् सुरुङभित्र पहिरो र पानी भरिँदा भएको दुर्घटनामा परी हालसम्म सात जनाको मृत्यु भएको छ। सुरुङमा फसेका अन्य श्रमिकहरूलाई सुरक्षित बाहिर निकाल्न राहत तथा उद्धार अभियान निरन्तर जारी छ। दुर्घटनाको खबर पाएपछि मुख्यमन्त्री पुष्कर सिंह धामी शुक्रबार बिहान खराब मौसमका बीच पीपलकोटी पुगेका छन्।
जिल्ला प्रशासनका अनुसार विष्णुगाड-पीपलकोटी जलविद्युत् आयोजनाको टीआरटी सुरुङमा बिहीबार साँझ भू-धसावट (पहिरो) गएपछि करिब १.५० किलोमिटर क्षेत्रमा मलबा र पानी भरिएको थियो। करिब तीन किलोमिटर लामो उक्त सुरुङभित्र २२ जना मानिस फसेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो। जिल्लाधिकारी गौरव कुमारले रातभर घटनास्थलमै खटिएर उद्धार कार्यको प्रत्यक्ष निगरानी गरेका थिए। सुरुङभित्र उद्धारका लागि पुगेका ६ जना उद्धारकर्मीहरू भने सुरक्षित रहेका छन्।
घाइतेहरूको जिल्ला अस्पताल गोपेश्वरमा उपचार भइरहेको छ। एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी, नेपाल/भारतीय पुलिस तथा विशेषज्ञ टोलीहरू उद्धारमा खटिएका छन्। सुरुङभित्र बाक्लो लेदो र पानी भएकाले उद्धार कार्यमा केही चुनौती थपिएको छ। मुख्यमन्त्री धामीले सुरुङमा फसेका प्रत्येक श्रमिकलाई सुरक्षित बाहिर निकाल्नु राज्य सरकारको पहिलो प्राथमिकता भएको बताउँदै सबै निकायलाई युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा प्रदीप सिंह पवार, मुकेश, दुर्लभ शर्मा, विजय, जितेन्द्र कुमार, लोकेश्वर र भुवनेश्वर रहेका छन्। घाइते हुनेहरूमा भारतका विभिन्न राज्य (उत्तराखण्ड, बिहार, झारखण्ड, छत्तीसगढ, पञ्जाब र हिमाचल) का श्रमिकहरू रहेका छन्। गम्भीर घाइते रोहित पाण्डेलाई थप उपचारका लागि श्रीनगर रिफर गरिएको छ भने गोविन्द नाम गरेका श्रमिकलाई उपचारपछि डिस्चार्ज गरिएको छ।









