नेपाली भाषालाई गोर्खाल्याण्डसँग जोडेर भ्रम नफैलाउन भारतीय गोर्खा परिसंघको आग्रह
दार्जिलिङ: नेपाली भाषाका कारण गोर्खाल्याण्ड राज्य निर्माण हुन नसकेको भन्ने भारतीय जनता पार्टीका प्रवक्ता अनुप गदालको सामाजिक सञ्जालमा आएको अभिव्यक्तिको भारतीय गोर्खा परिसंघले कडा खण्डन गरेको छ। भारतीय गोर्खा परिसंघका अध्यक्ष पासङ शेर्पाले यस्तो अभिव्यक्तिले गोर्खा समाजमा अनावश्यक भ्रम सिर्जना गर्ने काम भइरहेको बताएका छन्। आफ्नै जाति तथा समुदायभित्रबाट नै समाजमा भ्रम फैलाउने किसिमका अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।अध्यक्ष शेर्पाले नेपाली भाषा भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश भइसकेको विषयलाई गोर्खाल्याण्डको मागसँग जोडेर गलत धारणा सिर्जना गर्न नहुने स्पष्ट पारेका छन्।
उनले स्मरण गराउँदै भनेका छन्, १७ अगस्त २०२२ मा नेपाली भाषी भारतीय गोर्खा समुदायको नेपाली भाषा मान्यता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय गोर्खा परिसंघलाई पत्राचार गर्दै नेपाली भाषा मान्यता दिवसका लागि भारतीय गोर्खा समुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
शेर्पाका अनुसार गोर्खाल्याण्डको माग नेपाली भाषाको मान्यता वा भाषासम्बन्धी विषय मात्र नभई ऐतिहासिक, राजनीतिक तथा संवैधानिक अधिकारसँग सम्बन्धित विषय हो। त्यसैले सामाजिक सञ्जालमा आउने यस्ता अभिव्यक्तिप्रति सम्पूर्ण गोर्खा समुदाय सचेत र सजग रहनुपर्ने उनले बताएका छन्।
यसको साथै कुनै पनि व्यक्ति वा पक्षले समुदायमा भ्रम र गलत सूचना फैलाउने किसिमका अभिव्यक्ति नदिनसमेत भारतीय गोर्खा परिसंघका अध्यक्ष पासङ शेर्पाले आग्रह गरेका छन्।









