चीनसम्म सीधा पहुँच पुग्ने गरी भारतको रणनीतिक सामर्थ्यमा अभिवृद्धि
नयाँ दिल्ली: भारतले आणविक क्षमतायुक्त मध्यमसम्मको ब्यालिस्टिक मिसाइल ‘अग्नि-४’ को सफल परीक्षण गरेको छ। ओडिसामस्थित चाँदीपुर तटबाट स्ट्र्याटेजिक फोर्सेज कमाण्ड (एसएफसी) ले उक्त मिसाइलको सफल परीक्षण गरेको हो। करिब ४,००० किलोमिटरसम्म प्रहार गर्न सक्ने क्षमता रहेको अग्नि-४ ले भारतको सुरक्षा तथा रणनीतिक सामर्थ्यमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
यो मिसाइलले भारतको परमाणु प्रतिरोध क्षमतालाई थप बलियो बनाएको छ। करिब ४,००० किलोमिटरको मारक क्षमताका कारण चीनका प्रमुख रणनीतिक क्षेत्रहरूका साथै दक्षिण-पूर्वी एसिया र मध्य एसियाका कतिपय भूभागहरू यसको पहुँचभित्र पर्दछन्। दुई चरणको ठोस इन्धन प्रणाली (सोलिड प्रोपेलेन्ट) बाट चल्ने यो मिसाइलले करिब १,००० किलोग्रामसम्मका आणविक तथा परम्परागत हतियार बोक्न सक्छ। यसलाई मोबाइल लन्चरबाट सहजै प्रक्षेपण गर्न सकिने भएकाले युद्धको समयमा तुरुन्तै परिचालन गर्न सकिन्छ।
अग्नि-४ मा वायुमण्डलमा पुनः प्रवेश गर्दा उत्पन्न हुने ३,००० डिग्री सेल्सियसभन्दा बढीको तापक्रम सहन सक्ने अत्याधुनिक ताप रोधक प्रविधि (हिट शिल्ड) जडान गरिएको छ। आधुनिक निर्देशन प्रणाली र तीव्र प्रहार क्षमताका कारण ४,००० किलोमिटर टाढाको लक्ष्यलाई पनि यसले अत्यन्त सटीक रूपमा भेदन गर्न सक्दछ। भारतका रक्षा मन्त्री राजनाथ सिंहले यो परीक्षणको सफलताका लागि डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) र एसएफसीलाई बधाई दिँदै यसले देशको सुरक्षा सुनिश्चित गर्न थप बल पुर्याएको बताएका छन्।











