आमा सम्मान दिवस र नवौँ जनमुक्ति दिवसको अवसरमा को शुभकामना सन्देश

5eebbf2e-3bf8-4fe2-8831-7b7bf0e2229b

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले दोस्रो आमा सम्मान दिवस तथा नवौँ जनमुक्ति दिवसको सुखद अवसरमा सिक्किमका सम्पूर्ण आमाहरू तथा आम नागरिकमा हार्दिक शुभकामना एवम् श्रद्धाभाव व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उहाँले आमाहरूको असीम माया, त्याग र शक्तिप्रति उच्च सम्मान प्रकट गर्नुभएको हो।
​मुख्यमन्त्री गोलेका अनुसार आमा प्रत्येक परिवारको हृदय हुनुका साथै उहाँहरूको निस्वार्थ माया र मौन बलिदानले नै हरेक चुनौतीको सामना गर्ने साहस र अघि बढ्ने शक्ति प्रदान गर्दछ। यस अवसरले आफ्ना लागि गहिरो व्यक्तिगत र भावनात्मक महत्त्व बोकेको उल्लेख गर्दै उहाँले आफ्नी ममतामयी आमाका साथै सिक्किमका अनगिन्ती आमाहरूको माया र आशीर्वाद नै आफ्नो प्रेरणाको मुख्य स्रोत रहेको बताउनुभयो।
​सिक्किम सरकार आमाहरूको सम्मान, सुरक्षा र आत्मसम्मानका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोऱ्याउँदै उहाँले ‘सिक्किम आमा सशक्तिकरण योजना’ र ‘सिक्किम आमा सहयोग योजना’ जस्ता कार्यक्रममार्फत आमाहरूको कल्याण र सशक्तीकरणका लागि निरन्तर काम गरिरहने स्पष्ट पार्नुभयो।
​सन्देशको अन्त्यमा मुख्यमन्त्री गोलेले आमाहरूको सम्मान, परिवारको सुदृढीकरण र भावी पुस्ताको उज्ज्वल भविष्य सुनिश्चित गर्दै ‘सुनौलो सिक्किम, समृद्ध सिक्किम र सामर्थ्य सिक्किम’ निर्माण गर्ने सङ्कल्प दोहोऱ्याउनुभएको छ। साथै, उहाँले राज्यका सम्पूर्ण आमाहरूको सुस्वास्थ्य, दीर्घायु, सुख र गरिमामय जीवनको कामनासमेत गर्नुभएको छ।

About Author

Advertisement